१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

न्यायिक नेतृत्वको दोलखा भ्रमण

प्रकाशित मिति :  १२ बैशाख २०८०, मंगलवार ०५:२७


दोलखा । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गर्नुभएको छ । जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकैपटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल बार एशोसिएसन दोलखा एकाइको भवन उद्घाटन कार्यक्रमले जुराएको हो ।

उक्त कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्की, सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरि फुँयाल, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौला, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, टङ्क दुलाल, मेघराज पोखरेल, पूर्वमहान्यायाधिक्ता मुक्ति प्रधान, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवाली, रुद्र नेपाललगायत पुग्नुभएको थियो ।

यही वैशाख ८ गतेका लागि भ्रमणको नेतृत्व दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र सचिव प्रवीण प्रधानले गर्नुभएको थियो । वैशाख ८ गते औपचारिकरूपमा भवन उद्घाटन र दोलखा जिल्ला अदालतको अवलोकन गरी उहाँहरुले यही वैशाख ९ गते कालिञ्चोक भगवतीको मन्दिर र दोलखा भीमसेनको दर्शन गर्नुभएको हो ।

भ्रमणका क्रममा चरिकोटबाट सेतै फुलेका लालीगुँरास र सुन्दर वातावरणको अवलोकन गर्दै उहाँ कालिञ्चोक पुग्नुभयो । दोलखा भ्रमणमा आउँदाको मौकामा कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गर्ने अवसरमा मिलेकामा खुसी व्यक्त गर्दै कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “दोलखासँग मेरो पुरानो सम्बन्ध छ, मेरो कानुनी क्षेत्रको यात्रा नै दोलखाबाट सुरुआत भएको हो ।”

दोलखा जिल्लाका लागि एउटा सुन्दर संयोजक मान्नुपर्छ । पूर्वमहान्यायाधिक्ता अग्नि खरेलसँग मिलेर उहाँले पहिलो ल फर्म दोलखामा प्रारम्भ गर्नुभएको थियो । “वास्तवमा मेरो दोलखासँग एउटा मीठो संयोग छ, म ओखलढुङ्गाबाट आउने क्रममा एउटा मुद्दाको सिलसिलामा दोलखा झरेको थिएँ, यहाँ कानुन व्यवसायी छैनन्, यही ल फर्म खोलेर काम गर्नुपर्छ भन्ने कुरा आयो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “अग्नि खरेल र म मिलेर ल फर्म खोल्याँै, मेरो दोलखाबाटै कानुनी यात्रामा प्रवेश भएको थियो ।” त्यही ठाउँबाट कानुन क्षेत्र प्रारम्भ गरेको व्यक्तिले अहिले न्यायालयको नेतृत्व गरिरहनुभएको छ ।

दोलखा भीमसेनको दर्शन गरेपछि त्यहाँको एतिहासिक पुरानो बस्ती पनि उहाँले अवलोकन गर्नुभयो । पुराना बस्तीका घर र बस्ती केही परिवर्तन भएको महसुस भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिलाको भन्दा अलि फरक भएन, म आउँदा त्यो घर अर्कै थियो, अहिले केही परिर्वतन भएछ ।” दोलखा बजारमा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, दोलखा जिल्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, अधिवक्ता प्रवीण प्रधानगायतले अवलोकन गराउनुभएको थियो ।

सर्वोच्च अदालतमा न्यायाधीश हरि फुँयाल र कुमार रेग्मीले पनि उक्त अवसरमा कालिञ्चोक भगवती र दोलखा भीमसेनको दर्शन गर्नुभयो । सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता पहिलोपटक दोलखा भ्रमणमा पुग्नुभएको हो । “दोलखा पहिलोपटक घुम्ने मौका पाएको हुँ, सुन्दर रैछ ।”

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई पनि दोलखा पुग्ने र अवलोकन गर्ने अवसर पाएकामा खुसी लागेको छ । “म दशैँमा पनि दोलखा घुम्न आएको थिएँ, माथिल्लो तामाकोसीसम्म घुमेर फर्किएका थियौँ”, उहाँले भन्नुभयो, “मलाई दोलखा छुट्टै राम्रो र सुन्दर लाग्छ ।”

दोलखा–काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता पोखरेललाई दोलखा र दोलखाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलमा न्यायिक नेतृत्वलाई अवलोकन गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।

न्यायालयको नेतृत्व गर्ने व्यक्ति र न्याय क्षेत्रका नेतृत्व गर्ने विशिष्ट व्यक्तिहरू एकै ठाउँमा भेट हुनु एउटा सुन्दर संयोग हो । विरलै यस्तो संयोग हुन्छ । दोलखा बार एकाइका अध्यक्ष कृष्ण बस्नेतले आफ्नो कार्यकालमा बारको भवन उद्घाटन गर्ने क्रममा न्यायिक नेतृत्वको आगमनले खुसी बनाएको बताउनुभयो । “न्याय क्षेत्रका सर्वोच्च व्यक्तिको दोलखामा आगमन भयो, मलाई असाध्यै खुशी लागेको छ”, उहाँले सुनाउनुभयो, “खुसी लाग्यो मेरो कार्यक्रममा एउटा महत्वपूर्ण काम गरियो ।”
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !