१३ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

प्रकाशित मिति :  २० माघ २०७९, शुक्रबार ०४:३२


कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो ।

घरबाट बाहिर निस्कन नखोज्ने उहाँलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना–टपरी बनाउने तालिम दिएको थियो । “तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप सिकेँ, अहिले यही पेसाबाट जीवनयापन चलाइरहेकी छु”, थापाले भन्नुभयो ।

सुरुमा दुना–टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उहाँ सुनाउनुहुन्छ । “जब यो पेसा अँगाल्दै गएँ, अहिले मासिक रु २० हजार आम्दानी गर्ने भएकी छु”, उहाँले भन्नुभयो ।

लालीगुराँस दुना–टपरी उद्योग नै दर्ता गरेर उहाँले व्यवसाय सञ्चालन गर्नुभएको छ । सुरुआती चरणमा छ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उहाँ एक्लैले चलाउनुभएको छ । “एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेसिनले हात काट्यो, केही साथीले छाडे”, उहाँले भन्नुभयो, “अहिले एक्लै उद्योग चलाएकी छु ।”

सालको पातबाट बनाइने दुना–टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उहाँले बनाएर दुना–टपरी जाने गरेका छन् । हातैबाट दुना–टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । रु एक लाख ५० हजारको लगानीमा उहाँले मेसिनसमेत खरिद गर्नुभएको छ ।

पूर्व वडासदस्यसमेत रहेर काम गर्नुभएकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताउनुभयो । “गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते”, उहाँले विगत सुनाउँदै भन्नुभयो, “दुना–टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।”

पटना क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उहाँ आफैँ दङ्ग हुनुहुन्छ । विशेषगरी उहाँले बनाएका दुना–टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजाने गरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना–टपरीको माग हुने गरेको छ ।

थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आउनुभएको छ । एक सय पातको रु ४० दिने गरेको उहाँले बताउनुभयो । थापाले बेच्ने प्रतिदुना–टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । आफूले दुना–टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उहाँले बताउनुभयो । आफू जनप्रतिनिधि हुँदा पटक–पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

“स्थानीयस्तरमा सिकेको सीपलाई प्रोत्साहन गर्ने काम स्थानीय तहले गरेको छैन । दुना–टपरी बनाउँदा चाहिने क्वाइल भारतबाट ल्याउनुपर्छ, स्थानीय सरकारले सहयोग गरे राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका साम्रगी पाइने गरेका छन् । पानीपुरी पसलदेखि मुख्य बजारका चोकचोकका रहेका ठेलागाडाले प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् । त्यसले गर्दा वातावरण नै प्रद्रषित हुने गरेको छ । सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।

स्थानीय पालिकाले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्नेमा उहाँको जोड छ । प्लाष्टिकमुक्त पालिका बनाउनका लागि पनि यस्ता उद्यमीलाई प्रोत्साहन दिनुपर्छ । साथै उहाँले बाणगङ्गा नगरभित्र रहेका दुना–टपरीलाई एकीकृत गरी बिक्रीको प्रबन्ध मिलाइदिन आग्रह गर्नुभयो ।
–रासस



प्रतिक्रिया दिनुहोस !