२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व राजा प्रति लक्षित गर्दै नेपालले भने मुलुकमा फेरी मण्डलेहरुले राज गर्न थाले

प्रकाशित मिति :  ७ फाल्गुन २०७९, आईतवार ११:२०


काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा फेरि मण्डलेहरु जाग्न थालेका बताउनुभएकाे छ ।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियु स्थायी कमिटीकाे बैठकमा बाेल्दै अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मण्डलेहरु जाग्न थालेका बताउनुभयाे ।

आफू विद्यार्थी राजनीतिबाट यहाँसम्म आइपुगेकाे भन्दै उहाँले उतिबेला मण्डलेहरुकाे संगठन रहेकाे र अहिले फेरि ती मण्डले जाग्न थालेका बताउनुभयाे । अध्यक्ष नेपालले भन्नुभयाे – ‘अहिले फेरि मण्डलेहरु जाग्न थालेका छन्, मेचीकाे पुलमा उभिएर गरेकाे कुरा देख्नुभएहाेला, त्याे मण्डलेहरुकाे रुप कसाे घुसेछ एमालेभित्र, एमालेकाे एउटा केन्द्रीय सदस्य अझै पनि छ कि क्या हाे कि कारबाही गरिसक्याे थाहा छैन, त्याे भने कम्युनिष्ट पार्टीका लागि लाजमर्दाे कुरा हाे ।’

कतै कम्युनिष्ट पार्टीले यस्ता कुरालाई पनि प्राेत्साहन त दिइरहेकाे त छैन भन्ने शंका खडा भएकाे र कतै प्रतिगमनकाे सहयाेगी त बन्न गइरहेकाे त छैन भन्ने प्रश्न खडा भएकाे उहाँले बताउनुभयाे । समय-समयमा कम्युनिष्ट पार्टीले आफ्नाे शक्ति देखाएकाे भन्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई बलियाे बनाउनुपर्ने बताउनुभयाे ।

उहाँले देशकाे राजनीतिकाे तस्विर बेग्लै किसिमकाे देखिएकाे समेत उहाँले बताउनुभयाे । कम्युनिष्ट पार्टीकाे नेता पूर्व राजा ज्ञानेन्द्र शाहकाे अगुवा बन्नु विचित्रकाे कुरा भएकाे अध्यष नेपालले बताउनुभयाे ।

कम्युनिष्ट पार्टी जनतामाझ लाेकप्रिय रहेका भन्दै उहाँले जनवर्गीय संगठनहरु ती पार्टीका हातखुट्टा भएका बताउनुभयाे । संगठन नै शक्ति भएकाे भन्दै अध्यक्ष नेपालले संगठन बलियाे बनाउनतर्फ ध्यान दिन निर्देशन दिनुभयाे ।

अहिलेकाे सत्ता गठबन्धन जतिबेला पनि टुट्न सक्ने दाबी पनि उहाँले गर्नुभयाे । अध्यक्ष नेपालले अबकाे एक साताभित्र गठबन्धनकाे भविष्य टुंगाे लाग्ने दाबी गर्नुभयाे ।

राष्ट्रपति चुनावपछि मात्रै देशको राजनीतिले कुन कोर्स लिन्छ भन्ने तय हुने समेत उहाँले बताउनुभयाे । देशकाे राजनीति काेर्सलाई अगाडि बढाउने कामकाे अगुवाइ आफूहरुले गर्ने दाबी पनि नेपालले गर्नुभयाे । ‘रास्वापा सरकारबाट बाहिरिएपछि गठबन्धन संकटमा परेकाे छ, कुन दिन भत्किने हाे ठेगान छैन, याे गठबन्धन सरकार भत्केपछि, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ चिन्ता सुरु भइसकेकाे छ, ढाेक्सा थाप्ने भनेकाे त्यही हाे, त्यताबाट आएपछि यता जाेगाउँछन् कि भनेर,राजनीतिले कुन काेर्स लिने हाे राष्ट्रपतिकाे चुनावसम्ममा थाहा हुन्छ’-नेपालकाे भनाइ छ ।

सबै कुराकाे फैसला एक सातापछि हुने बताउँदै उहाँले भन्नुभयाे – ‘याे गठबन्धनमा राजा-राजतन्त्र ल्याउन खाेज्ने तत्वहरु पनि छन्, संघीयता विराेधीहरु पनि छन्, वामपन्थी पनि छन्, संविधान विराेधी पनि छन्, संविधानकाे रक्षक पनि छन्, सबै पद लिन खाेजेर नेपालकाे राजनीतिमा एकाधिकार चलाउन खाेज्ने प्रवृत्ति हावी हुने हाे कि ? सन्तुलनकाे राजनीति अपनाएर मात्र जानुपर्छ भन्ने मान्यता हावी हुने यसकाे फैसला आउँदाे हप्ताभित्र आउन सक्छ त्यसकाे लागि तयार हाैं ।’

वाम र लाेकतान्त्रिक शक्ति मिलेर बनेकाे आफूहरुकाे यसअघिकाे गठबन्धन उचित गठबन्धन भएपनि त्याे जाेगाउन नसकिएकाे अध्यक्ष नेपालले बताउनुभयाे । नयाँ घण्टी बजाउँदै आएकाे पार्टी रास्वपाले के-के न गर्ला भन्ने लागेपनि त्यसमा पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको समेत नेपालले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !