२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओली विरुद्ध युग पाठकलाई बोक्दैछन् माओवादी

प्रकाशित मिति :  १२ कार्तिक २०७९, शनिबार ०९:०४


दमक । सत्ता गठवन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर ५ मा चुनाव हराउन अनेक उपाय खोजिरहेको छ ।

गठवन्धनले आफ्ना उम्मेदवार कांग्रेसका खगेन्द्र अधिकारीलाई पछाडि हटाएर स्वतन्त्र उम्मेदवार युग पाठकलाई समर्थन दिने बारेमा छलफल भइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो आम चुनावमा प्रतिस्पर्धीभन्दा करिब दोब्बर मत ल्याउनुभएको थियो । सर्वाधिक मतान्तरले अघिल्लो चुनाव जित्नुभएका अध्यक्ष ओली फेरि त्यही इतिहास दोहोराउने प्रयासमा हुनुहुन्छ ।

झापाको क्षेत्र नम्बर पाँच हो अध्यक्ष ओलीको चुनाव क्षेत्र । यो क्षेत्रमा दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिका पर्छ ।

आफ्नो चुनाव क्षेत्रमा ओलीले मतदाता भेटघाट अभियान चलाइरहनुभएको छ ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रमा विभिन्न पार्टीका सयौं नेता कार्यकर्तालाई पनि एमाले प्रवेश गराइरहनुभएको छ । यस क्रममा झापाका प्रभावशाली नेता केन्द्र प्रसाईं पनि एमालेमा प्रवेश गर्नुभएको छ । विगतमा उहाँ माधव नेपालको पार्टीमा लाग्नुभएको थियो । दमकमा आयोजितक एक समारोहमा उहाँले एमाले प्रवेशको घोषणा गर्नुभएको हो ।

दमकको कार्यक्रममा दर्जनौं युवाहरु पनि एमाले प्रवेश गरेका छन् । एमालेका नेताहरुका अनुसार पार्टी प्रवेश कार्यक्रमको यो सुरुआत मात्र हो । अब अध्यक्ष ओली झापामा जहाँजहाँ जानुहुन्छ त्यहाँ पार्टी प्रवेश कार्यक्रम रत्हुनेछ । एमालेमा प्रवेश गर्न विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले आफूहरुसँग सम्पर्क गरिरहेको एमालेका नेताहरुको भनाई छ ।

अध्यक्ष ओली विरुद्ध सत्ता गठवन्धनले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार युग पाठक पनि चुनावी मैदानमा हुनुहुन्छ ।

खगेन्द्र अधिकारी अघिल्लो चुनावमा पनि ओली विरुद्ध कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

स्वतन्त्र उम्मेदवार युग पाठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अति निकट मानिनुहुन्छ । माओवादी भएर पनि पाठकले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । स्वतन्त्र उम्मेदवार पाठकको पक्षमा माहौल सिर्जना गर्न माओवादी कार्यकर्ताहरुले प्रयास गरिरहेका छन् ।

प्रदेश ख बाट प्रदेश सभाका लागि उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले स्वतन्त्र उम्मेदवार पाठकलाई निरन्तर सघाइरहनुभएको भए पनि पाठकको पक्षमा खासै माहौल सिर्जना हुन सकिरहेको छैन ।

माओवादीका नेता कार्यकर्ताहरुले गठवन्धनका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा स्वतन्त्र उम्मेदवार पाठकको भोट बढि आउने बताइरहेका छन् । कांग्रेसका अधिकारीलाई ब्याक गरेर स्वतन्त्र उम्मेदवार पाठकलाई अगाडि सार्ने बारेमा पनि गठवन्धनमा कुरा उठेको छ ।

केपी ओलीलाई जसरी पनि पराजित गर्ने उद्देश्य सत्ता गठवन्धनले बोकेको छ । तर, ओली विरुद्ध गठवन्धनले दह्रो उम्मेदवार उठाउन सकेन । त्यसैले स्वतन्त्र उम्मेदवार युग पाठकलाई समर्थन दिएर भए पनि ओलीलाई हराउन सकिन्छ कि भनी गठवन्धनमा कुरा उठेको हो ।

प्रदेश कका गठवन्धनका उम्मेदवार जीवन राई र प्रदेश खका उम्मेदवार रेवतराजले पनि खगेन्द्रलाई ब्याक गराएर स्वतन्त्र उम्मेदवार युग पाठकलाई अगाडि सारेमा प्रदेशमा आफ्ना भोट बढ्ने बताइरहनुभएको छ । तर, जानकार स्रोतहरुका अनुसार कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारी कुनै पनि हालतमा मैदान छाड्ने पक्षमा हुनुहुन्न । खगेन्द्र अधिकारी निकटहरुले युग पाठकको भोट पाँच सय पनि नकट्ने बताइरहेका छन् । उता माओवादी नेता कार्यकर्ताहरु भने खगेन्द्रलाई पछाडि सारेर गठवन्धनले स्वतन्त्र उम्मेदवार पाठकलाई अगाडि सार्ने हो भने प्रदेश पनि जितिने र केपी ओलीलाई पनि दवाबमा पार्न सकिने बताइरहेका छन् ।

‘पाँच सय भोट पनि नभएका, काठमाडौंको मिडियामा मात्र चर्चामा रहेका युग पाठकलाई गठवन्धनले समर्थन गर्ने कल्पना पनि गर्न सकिन्न’, कांग्रेसका एक जिम्मेवार नेताले भने, ‘माओवादी साथीहरु यस्तै वाहियात कुरा ल्याएर स्थिति बिगार्दैछन् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !