१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेससँग कुनै नीति, भिजन छैन: केपी ओली

प्रकाशित मिति :  २ कार्तिक २०७९, बुधबार ११:३७


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग कुनै नीति र भिजन नभएकाे बताउनुभएकाे छ ।

झापाको धुलाबारीमा बुधबार आयाेजित राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले कांग्रेससँग देश बनाउने कुनै भिजन नभएकाे बताउनुभयाे ।एमालेले गरेका कामकाे जस कांग्रेसले लिने गरेकाे उहाँकाे भनाइ छ ।

अध्यक्ष ओलीले कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको बताउनुभयाे । चुनावी घाेषणापत्र समेत भाडाका बुद्धिजिवी लगाएर लेख्ने अवस्थामा कांग्रेस पुगेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘कांग्रेसले सधैंझैँ घोषणापत्र त ल्याउँछ, तर काम कामै नलाग्ने, भाडाको बुद्धिजिविले लेखिदिएको घोषणापत्र उहाँहरूले नेपाली जनताको बीचमा छर्नुहुनेछ, त्यो कुनै कांग्रेसको घाेषणापत्र हुने छैन ।’

कांग्रेसले २३-२४ वर्ष सरकारकाे नेतृत्व गर्दापनि एउटा राम्राे काम गर्न नसकेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘पटक-पटक सरकारको नेतृत्व गर्दा कांग्रेसले कुन एउटा राम्रो काम गर्‍यो देखाउनुस्, २३-२४ वर्ष सरकारको नेतृत्व गरेकाे छ, एउटा राम्राे काम याे गरे भनेर भनाेस्, होइन भने हामीसँग सोधाेस्, हामी मन्त्र पढेजसरी सयौँ कुरा भन्नेछौँ, किशाेरकिशाेरी, बालबालिका, ज्येष्ठ नागरिक, सडकमार्गका लागि के गर्‍याैं सबै भन्नेछाैं ।’

मृगाैला राेगीहरुका लागि नि:शुल्क डायलासिसकाे व्यवस्था एमालेले गरेकाे उहाँले प्रष्ट पार्नुभयाे । कांग्रेसले आफूले गरेकाे भन्दै भ्रमपूर्ण प्रचार गरेकाे अध्यक्ष ओलीकाे भनाइ छ ।

उहाँले अहिलेकाे गठबन्धन अन्तैबाट चलेकाे र त्यसले देशकाे पक्षमा कुनै काम नगरेकाे पनि बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयो – ‘गठबन्धनवालाहरू कुसुलेले नचाउने कठपुतलीजस्ता हुन्, क-कसले चलाउँछ भन्ने थाहा छैन,क-कसले नचाउँछ थाहा छैन ।’

उहाँले राप्रपा आफैं चलेको पार्टी भएकाले चुनावी तालमेल गरिएकाे प्रष्ट पार्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे -‘राप्रपालाई त कसैले चलाएको छैन नि, गठबन्धनवालाहरूलाई त क-कसले चलाउँछ भन्ने थाहा छैन, राप्रपाले देशलाई माया त गर्छ, देशका लागि विवेकले निर्णय गर्छ ।’

उहाँले जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउनतर्फ लाग्न नेता-कार्यकर्तालाई निर्देशन पनि दिनुभयाे । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव एमालेले बहुमतसाथ जित्ने पनि अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले साे चुनावमा प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट जित्ने पनि बताउनुभयाे ।

एमालेप्रति देखिएकाे जनलहर, गुटमुक्त पार्टी र सरकारमा छँदा गरेका कामले एमालेको पक्षमा माहाेल बनेको पनि अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो -‘यो वर्तमान सरकार दुई दिनको घामछाँया जस्तै हो, म्यादी प्रहरीको भन्दा छोटो छ समय, मंसिर ४ आयो कि गठबन्धन सरकार गयो ।’

मंसिर ४ काे चुनाव सामान्य चुनाव नभएकाे भन्दै अध्यक्ष ओलीले साे चुनावलाई देशभक्त र देशविराेधीबीचकाे महासंग्रामका रुपमा लिनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ हामी, जनता र देशका लागि आज के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ, गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’

अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँड्ने ठगहरुलाई कारबाही हुनुपर्ने बताउनुभयाे । मंगलबार रौतहटमा भएकाे कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमारनेपालले फ्रि भिसा र टिकटको लोभ देखाएर युवाहरुलाई भ्रमित गरेकोप्रति आपती जनाउँदै अध्यक्ष ओलीले कारबाहीकाे गर्नुपर्ने बताउनुभएकाे हाे ।

बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले प्रचार कार्यलयमा साे क्षेत्रका युवाहरुलाई फ्रि भिसा र टिकटको लोभ देखाएको भन्दै उहाँले निर्वाचन आयोगले तत्काल कारबाही गर्नुपर्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !