१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल सबै नेपालीको हुन सकेन- राजेन्द्र महतो

प्रकाशित मिति :  १ आश्विन २०७९, शनिबार ११:५५


काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले नेपाल सबै नेपालीको देश हुन नसकेको गुनासो गर्नुभएको छ ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै महतोले नेपाल कुनै जात, समुदाय वा क्षेत्र विशेषको नभएको बताउनुभयो । तर व्यवहारमा नेपाललाई कसैको पेवा बनाउने प्रयास गरिएको भन्दै महतोले आलोचना गर्नुभयो । नेपाली जनता वर्तमान शासन र संविधानबाट सन्तुष्ट हुन नसकेको उहाँले दाबी गर्नुभयो । ‘नेपाली जनता सन्तुष्ट छैनन्’, महतोले भन्नुभयो ।

नेपालको संविधान अनुसार अधिकार र पहिचानको सवाल सम्बोधन हुन नसकेको उहाँले बताउनुभयो । संविधान नबनाउँदै जनतालाई गोली ठोकेर संविधान जारी गरेको उहाँले टिप्पणी गर्नुभयो ।

देशमा परिवर्तनको लागि सबैको योगदान भएको उहाँले स्मरण गराउनुभयो । परिवर्तन पछि भने देश सीमित व्यक्तिको हातमा रहेको उहाँले बताउनुभयो । ‘संविधान सबै नेपालीको लागि बन्यो त ? सबै नेपाली जनताको लागि संविधान बनेन’, महतोले भन्नुभयो ।

आवश्यकता अनुसार संविधान सुधार गर्दै जाने भनिएको भए पनि पाँच वर्षमा त्यो नभएको उहाँले बताउनुभयो । ‘षडयन्त्रबाट बनेको संविधानले न्याय दिन्छ त जनतालाई ?’, उहाँले प्रश्न गर्नुभयो ।

महतोले औपनिवेशिक चिन्तन र सोच बाट शासन सञ्चालन भइरहेको बताउनुभयो । यसले नागरिकलाई स्वतन्त्रता र समानता नदिएको उहाँले बताउनुभयो । यस विषयमा समीक्षा र मूल्याङ्कन हुनु पर्नेमा उहाँले जोड दिनुभयो । यो देश सबैको देश हो , सबैको देश हो भने सबैको हित हुने गरी काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

देशका सबै अङ्गमा समावेशी सहभागिता कसरी भएको भन्ने विषयमा श्वेत पत्र जारी गर्न उहाँले सरकारलाई चुनौती दिनुभयो । नेपाल सबै नेपालीको लागि बनाएको छु भन्ने कुरा राज्यलाई दुनियाँको अगाडि बताउने हिम्मत गर्न उहाँले आग्रह गर्नुभयो । ‘नेपाल सबै नेपालीको हुनु सकेन’, महतोले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !