१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयत्न गर्ने

प्रकाशित मिति :  १४ फाल्गुन २०७८, शनिबार ०७:४६


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयत्न गर्ने बताउनुभएको छ ।

एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्था आए पनि त्यसलाई जोगाउन आफू लागि पर्ने उहाँले बताउनुभयो ।

माओवादीको सशस्त्र युद्धमा मारिएका दिलबहादुर रम्तेलको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनलाई सजिलै टुट्न नदिने बताउनुभयो ।

माओवादी सत्ता गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि हल होस् भन्ने उपाय खोजि रहेको उहाँले बताउनुभयो । ‘प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने, हामी सबैले यही संकल्प लिएर अगाडि बढ्नुपर्छ’, प्रचण्डले भन्नुभयो ।

माओवादी अहिले पनि युद्धमा नै रहेको प्रचण्डले बताउनुभयो । अहिलेको युद्ध रक्तपात सहितको नभइ फरक खालको युद्ध भएको उहाँको भनाइ छ । ‘हामी रक्तपातहीन युद्धमा छौँ, युद्ध सकिएको छैन’, प्रचण्डले भन्नुभयो ।

प्रचण्डले संविधान र कानुनमा अहिले भएको व्यवस्था माओवादी आन्दोलनले नै ल्याएको बताउनुभयो । माओवादी आन्दोलनलाई दबाउन प्रयास भए पनि त्यसलाई माओवादीले असफल गराएको उहाँको भनाइ छ ।

अहिले जनयुद्धका उपलब्धि र संविधानलाई उल्टाउने कसर भइरहेको प्रचण्डको भनाइ छ । गणतन्त्र र संविधानलाई घात गर्ने काम लगातार भएको उहाँले बताउनुभयो ।

संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षा गर्नको लागि पाँच दलीय गठबन्धन बनेको उहाँले बताउनुभयो । गठबन्धनको साझा एजेण्डामा एमसीसी नभएको उहाँको भनाइ छ । कहीँ यसैको कारणले गठबन्धन नै टुट्ने हो कि भन्ने शंका बढेको उहाँले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !