१४ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपालको अवस्था ‘चोक्टा खान गएको बुढो झोलमा डुबेर मर्‍यो’

प्रकाशित मिति :  २५ माघ २०७८, मंगलवार ०४:४८


-नबराज पथिक

काठमाडौं । मान सम्मान मागेर लिने विषय होइन । मानिसको विधि, व्यवहार र गतिविधिले स्थापित हुने कुरा हो ।

मान सम्मान न मागेर पाइन्छ, न किन्न पाइन्छ । त्यो त भावनात्मक कुरा हो । जब कसै प्रति मानिसको आस्था, विश्वास र सद्भाव बढ्छ तब उसले मनैदेखि मान सम्मान प्रकट गर्दछ ।

नेपालको कम्युनिष्ट राजनीतिका एक पात्र माधवकुमार नेपाल, जसलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले १५ वर्ष पार्टीको महासचिव बनायो । देशको प्रधानमन्त्री पनि बनायो । दशकौँसम्म पार्टीको नेता बनायो ।

नेपाललाई नेकपा एमालेले मान दियो, सान दियो । पद दियो, प्रतिष्ठा दियो । नागरिकले पाउने सबै खालको सम्मान दियो ।

उहाँलाई नेकपा एमालेले यति धेरै पद प्रतिष्ठा र मान सम्मान दियो कि उहाँलाई पद प्रतिष्ठा बिना बस्नै नसक्ने बनाइदियो । निर्वाचन हार्दा पनि संसद्मा ल्याएर प्रधानमन्त्री बनाइदियो ।

जति मान गर्‍यो, त्यति नपुग्ने मानिसको स्वभाव नै हो । त्यही स्वभाव माधव नेपालमा पनि देखा पर्‍यो । त्यसैले उहाँ पद प्रतिष्ठा नभई बस्ने नसक्ने हुनुभयो । एक हिसाबले माधव नेपालमा पद प्रतिष्ठाको फोविया चढ्यो ।

पार्टीको महाधिवेशनमा नेपाल पराजित हुनुभयो । कार्यकर्ताले पत्याएनन् तर, उहाँ पद बिना बस्नै सक्नु भएन । पद नभई भएन । एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म पर्खन पनि सक्नु भएन ।

आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको सरकार ढाल्न लाग्नुभयो । मेरो अपमान भयो, मेरो सम्मान भएन भन्दै लेग्रो तानेर मिलाई मिलाई बक्न लाग्नुभयो । उहाँ मान सम्मान खोज्दै पुष्पकमल दाहाल प्रचण्डको पछि लाग्नुभयो । आफ्नै सहकर्मीको खुट्टा तान्नुभयो ।

मान सम्मान खोज्दै माइतीघर मण्डला पुग्नुभयो । प्रचण्डसँग अँगालो मार्दै कालो झण्डा बोकेर हिँड्नुभयो ।

त्यति त भयो भयो, प्रचण्ड पार्टी अलग बनाएर हिँडेपछि पनि उहाँसँगै हात गाँसी रहनुभयो । प्रचण्डकै निर्देशन र डिजाइन अनुसार नेकपा एमाले फुटाएरै छाड्नुभयो । पार्टीभित्र अन्तरसंघर्ष गर्ने कम्युनिष्ट पार्टीको मूल्य, मान्यता र सिद्धान्त सबैलाई लात मारेर १५ वर्ष नेतृत्वमा पुर्‍याउने, प्रधानमन्त्री बनाउने पार्टीलाई छाडेर हिँड्नुभयो ।

माधव नेपाल प्रचण्डको पछि लागेर पाँच दलीय गठबन्धनमा पुग्नुभयो । मान सम्मान खोज्दै प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको भित्रिया भएर बालुवाटार र सिंहदरबारमा बाहिर भित्र गर्न लाग्नुभयो । दुईचार जना आफ्ना मान्छेलाई मन्त्री पनि बनाउनुभयो ।

केपी ओली नेतृत्वको कम्युनिष्ट पार्टीको सरकार ढल्दा संसारमा सबैभन्दा बढी कोही खुसी थियो भने त्यो माधव नेपाल नै हो । जनादेश विपरीत पार्टी फुटाए पछि केन्द्रसँगै प्रदेशमा पनि धमाधम सरकार ढले । ती सरकार ढल्दा सबैभन्दा बढी खुसी हुने पात्र पनि माधव नेपाल नै हुनुभयो ।

सबै तिर ढल्यो, अब सकियो । मेरो अपमान गर्दाको फल केपी ओलीलाई चखाइयो भन्दै माधव नेपाल हिँड्नुभयो । स्वर मिलाई मिलाई गीत गाउनुभयो ।

अर्काले बोकेको कुकुरले के मिर्ग मार्न सक्थ्यो । एक दिन न एक दिन त धरातलमा आउनै पर्दथ्यो । माधव नेपाल सोचेभन्दा चाँडो आफ्नो धरातलमा ओर्लनुभयो, उहाँ त नेपालको राजनीतिमा सिंहबाट एकै पटक मुसा पो हुनुभयो ।

केपी ओलीको मेख मार्ने एउटै मात्र उद्देश्य बोकेर हिँड्नु भएका माधव नेपाल नराम्रोसँग पछारिनुभयो । पछारिनु भयो पनि के भन्नु, उहाँलाई प्रचण्ड र शेरबहादुर देउवाले पछारिदिनुभयो । सायद अहिले माधव नेपालले आफू कति पानीमा छु भन्ने थाहा पाउनुभयो होला ।

एमसीसी सम्झौताको याचना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले पठाएको पत्र बाहिरिए पछि नेपालको राजनीतिमा नयाँ तरङ्ग आयो । त्यो तरङ्गलाई न देउवाले एक्लै थेग्न सक्नुभयो, न प्रचण्डले । उहाँहरूले सात महिनादेखि दुत्कारी रहनुभएको पात्र नेकपा एमालेका अध्यक्ष केपी ओली नभई भएन ।

केपी ओलीलाई छलफलको लागि प्रधानमन्त्री देउवाले बोलाउनुभयो । यसले के प्रमाणित गर्‍यो भने देशमा संकट पर्दा एमाले नै चाहिन्छ, केपी ओली नै चाहिन्छ ।

माधव नेपाल त मोज मस्ती गर्न, सत्ताको भाग बण्डा गर्न मात्र चाहिन्छ, संकटमा होइन भन्ने कुरा आइतबारको घटनाक्रमले प्रमाणित गरिदियो । सधैँ शीर्ष नेताको बैठक भन्दै गजक्क परेर बस्ने माधव नेपाललाई अवरुद्ध भएको संसद् बैठक, एमसीसी र स्थानीय तह निर्वाचन घोषणा गर्ने बैठकमा देउवाले बोलाउनुभएन ।

देउवाको यो कार्यले नेपालको मान भयो कि अपमान त्यो त उहाँ नै जान्नु होला । देश आफैँले थेगेको र आफैले गर्दा थेगिएको बताउनुहुने माधव नेपाललाई आफ्ना मन्त्रीलाई अब पनि यो गठबन्धन सरकारमा राखिरहँदा मान हुन्छ कि अपमान हुन्छ, त्यो पनि उहाँ नै जान्नु होला । तर नेपाली जनताले बुझेको कुरा चाहिँ के हो भने राष्ट्रिय समस्याको छलफलमा माधव नेपाल जस्ता पात्र आवश्यक छैन । त्यस्ता बैठक र छलफलमा उहाँको उपस्थितिका महत्त्व र आवश्यकता छैन ।

माधव नेपाल आफूलाई राष्ट्रिय महत्त्वको व्यक्ति ठान्नु हुन्थ्यो । आफूलाई सधैँ सबैले मान सम्मान गरिरहनुपर्छ भन्नुहुन्थ्यो । तर देउवाले आइतबार उहाँको असलियत देखाई दिनुभएको छ । उहाँको मान सम्मान खोज्ने चरित्रलाई अपमानको खाडलमा गाडिदिनुभएको छ ।

आइतबार भएको तीन दलको बैठकले नेपालको राजनीतिको ‘रिङ’ बाट माधव नेपाललाई आउट गरिदिएको छ । उहाँको आवश्यकता नेपालको राजनीतिमा अब छैन भन्ने प्रमाणित गरिदिएको छ । नत्र त्यति ठुलो र महत्त्वपूर्ण बैठकमा माधव नेपाललाई बोलाउनु पर्दैन ? अनि सधैँ माधव नेपाललाई बोकेर हिँड्ने प्रचण्ड त्यस्तो महत्त्वपूर्ण बैठकमा नेपाललाई बाहिरै छाडेर एक्लै भित्र छिर्नु हुन्छ ? यसले प्रचण्डको अरबवादी चरित्र छर्लङ्ग भएको छ । माधव नेपालको अधोगतिका यात्रा सुरु भएको छ ।

कांग्रेस र माओवादीको आड खुस्किएपछि आफू कुन छाँगाबाट खस्छु भन्ने माधव नेपालले राम्रैसँग बुझेको हुनुपर्छ । माधव नेपाल हिजो एमालेले जिताएको सांसद पदको दुरुपयोग गरी केही समय राज्य शक्तिमा खेल्ने सोचमा हुनुहुन्थ्यो । त्यसैले उहाँ निर्वाचनलाई एक वर्ष पछाडि धकेल्न सकिन्छ कि भनेर लाग्नुभयो । तर त्यो सफल भएन ।

सरकारले स्थानीय तह निर्वाचन घोषणा गरेको छ । कांग्रेस र माओवादीले साथ नदिए माधव नेपालको पार्टीले एउटा स्थानीय तह पनि जित्ने अवस्था छैन । त्यसले उहाँको प्रतिको जनमत उदाङ्गो हुने छ । अनि माधव नेपालको अपमानै अपमानको यात्रा सुरु हुने छ । माधव नेपालको अवस्था ‘चोक्टा खान गएको बुढो झोलमा डुबेर मर्‍यो’ भने जस्तै हुने छ ।



प्रतिक्रिया दिनुहोस !