१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रशासकीय अधिकृत र लेखा अधिकृतको चेक च्याताच्यात काण्ड: छानबिनको माग

प्रकाशित मिति :  २२ माघ २०७८, शनिबार ०९:३५


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पैकरा र लेखा अधिकृत राजन गुरागाईँ बिच भएको गाउँपालिकाको चेक च्याताच्यात काण्डको छानबिन गर्नु पर्ने माग उठेको छ ।

गाउँ पालिका उपाध्यक्ष उर्मिला कार्कीले सो घटनाको छानबिन  गरी दुवै जनालाई कारबाहीको माग गर्नुभएको छ । कार्कीले कर्मचारीले दादागिरी देखाउँदै आफूखुसी गाउँपालिका सञ्चालन गर्न खोजेको भन्दै विरोध जनाउनुभएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पैकरा र लेखा अधिकृत राजन गुरागाईँ बिच चेक बनाउने विषयमा विवाद भएको थियो । लेखा अधिकृतले गत मंगलबार तोक आदेश विना चेक बनाएको भनी निमित्त प्रशासकीय अधिकृत र लेखा अधिकृत बिच विवाद हुँदा बिहीबार चेक च्याताच्यात भएको थियो ।

घटना पछि बिहीबार गाउँपालिकाको लेटर हेडमा दुवै जनाले विज्ञप्ति जारी गरी आफूहरूको बिच चेक च्याताच्यात बाहेक अन्य कुनै विवाद नभएको भन्दै हाता हालाहाल भयो भनी आएको  समाचार गलत भएको बताउनुभयो । उहाँहरूले आफूहरू जनताको  सेवामा निरन्तर लागि रहने प्रतिबद्धता सहित विज्ञप्ति जारी गर्नुभयो ।

गाउँपालिका उपाध्यक्षले भने पालिकाको लाखौँ रकम लेनदेनको विषयमा एक आपसमा कुरा नमिलेर चेक च्यातेको बताउनुभएको छ । ‘सरकारी कागजपत्र र चेक च्यात्ने सम्मको कुरा सामान्य कुरा होइनन्’, उहाँले भन्नुभयो ।

बिहीबार निमित्त प्रमुख प्रशासकीय अधिकृत पैकरा र लेखा अधिकृत गुरागाईँले एक घण्टा भन्दा बढी बन्द कोठामा बसेर लेनदेनको हिसाब गर्दा हिसाब नमिले पछि तीन वटा चेक र अन्य कागज पत्र समेत च्यातेर फालेको उहाँले बताउनुभयो । सो घटनाको निष्पक्ष छानबिन गर्न उहाँले माग गर्नुभएको छ ।

उहाँहरूले जनप्रतिनिधिलाई कुनै जानकारी नदिई गाउँपालिकाको लेटर प्याड दुरुपयोग गरेर विज्ञप्ति निकालेको कार्कीको भनाइ छ ।  ‘उहाँहरू झगडा गर्ने, सरकारी कागजपत्र च्यातेर हिँड्ने, अनि हामी मिलेर काम गर्छौँ भन्दै प्रेस विज्ञप्ति निकाल्ने, कुन विषयमा कुरा मिलेको थिएन, अब के गरी मिल्यो, मिलेर के काम गर्ने हो ?’ कार्कीले प्रश्न गर्नुभयो ।

कर्मचारीले गाउँपालिका र जनप्रतिनिधिको बदनाम गर्ने काम गरेकोले पनि छानबिन आवश्यक रहेको उहाँले बताउनुभयो ।  घटनाको छानबिन गरी सर्वसाधारण नागरिकको काममा एक हप्ता भित्र सहजता ल्याउन र कार्यकारी र लेखा अधिकृतको व्यवस्था मिलाउन  पनि उहाँले माग गर्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !