१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्री बालकृष्ण खाँडद्धारा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन

प्रकाशित मिति :  १५ माघ २०७८, शनिबार ०८:०२


काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँडले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ संक्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गर्नुभएको छ ।

गृहमन्त्री खाँडले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शंकरहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई आज टेलिफोन गरी न्यानोे कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

यस्तै उहाँले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुङ्गाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका वीरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग जिल्लागत शान्तिसुरक्षा र कोभिड–१९ लगायतका विषयमा जानकारी लिनुभएको थियो ।

यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिनुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

गृहमन्त्री खाँणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिनुभएको हो । सरकारले गत मंसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन दिएको थियो ।

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी तामाङले गृहमन्त्री खाँणले टेलिफोनमा जिल्लामा कोभिड–१९ को सङ्क्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताउनुभयो । ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरुद्धको खोप र शीतलहरबारे जानकारी लिनुभयो’, प्रजिअ तामाङले भन्नुभयो । सीमानाकाबाट आउने नागरिकमा कोभिडको सङ्क्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिनुभयो ।

इलामका प्रजिअ ढुङ्गानाले सीमाबाट आएका नागरिकमा कोभिड संक्रमणको अवस्था, निको हुने दर, विद्यालय सञ्चालनको अवस्था कस्तो छ भनेर मन्त्री खाँणले जानकारी लिएको बताउनुभयो ।

गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैसीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताउनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !