१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज हरिबाेधिनी एकादशी, तुलसीको विवाह र विशेष पूजा आराधना गरेर मनाई‌दै

प्रकाशित मिति :  २९ कार्तिक २०७८, सोमबार ०३:१२


काठमाडाैं । आज हरिबाेधिनी एकादशी पर्व, भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा आराधना गरेर मनाई‌ंदैछ ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा दामोदरसँग तुलसीको विवाह र विशेष पूजा गरेर हरिबाेधिनी एकादशी मनाइन्छ । हरिबोधिनी एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन दामोदरसँग तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंगाे गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्ति महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी, औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।

कोभिडबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने चिकित्सकहरु बताउँछन् । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाक्षा पूरा हुन्छ भन्ने विश्वास छ । यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्ने गरुड पुराणमा उल्लेख छ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण लगायत ठाउँमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । यस वर्ष भने कोरोना संक्रमण जाेखिमका कारण धेरैजसो नारायण मन्दिर बन्द गरिएको छ ।

दक्षिणकालीको शेषनारायण मन्दिर भने भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खुला गरिनेछ । हरेक पर्वमा मन्दिर दर्शन गर्न जानै परे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दर्शन गर्न सरकारले समेत पटक पटक अनुराेध गर्दै आएकाे छ । हरिबाेधिनी एकादशीसँगै महत्वपूर्ण र ठूला चाड याे वर्षका लागि सकिनेछन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !