१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संगठन भनेकाे एमालेकाे जस्ताेपाे हुनुपर्छ

प्रकाशित मिति :  २८ कार्तिक २०७८, आईतवार ०५:४३


-नबराज पथिक

काठमाडौं । आवधिक निर्वाचन, आन्तरिक प्रतिष्पर्धाबाट प्रतिनिधि चयन राजनीतिक दलको आन्तरिक लोकतन्त्र हो । समयमा सही तरिकाले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनले राजनीतिक दल र लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउँछ ।

नेपालमा नेपाली कांग्रेस सबैभन्दा पुरानो राजनीतिक दल हो । कांग्रेस आफूलाई देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भन्छ । आफूलाई लोकतन्त्रको हिमायति ठान्छ कांग्रेस ।

आफूलाई सबैभन्दा लोकतान्त्रिक ठान्ने नेपाली कांग्रेस अन्तरिक लोकतन्त्रमा विस्तारै कमजोर बन्दै गएको छ । कांग्रेस दुई कुराले कमजोर बनेको छ । एउटा आन्तरिक लोकतन्त्र अर्थात् नेतृत्व परिवर्तन र हस्तान्तरणको कुरामा, अर्को वाह्या साँठगाँठको कुरामा ।

आन्तिरिक लोकतन्त्रको कुरा गर्दा नेपाली कांग्रेसले आफ्नो पार्टीको महाधिवेशन निर्धारित समयमा गर्न सकेन । विधानतः कांग्रेसले आफ्नो महाधिवेशन एक वर्ष अघि नै गर्नु पर्ने हो । एक वर्ष अघि नै कांग्रेसमा नयाँ नेतृत्व आउनु पर्ने हो । तर कांग्रेसले त्यस्तो गर्न सकेन । संविधानले गरेको व्यवस्था अनुसार थप भएको एक वर्षको अविधिमा पनि कांग्रेसले महाधिवेशन गर्न सकेन ।

कांग्रेसको महाधिवेशनको हल्ला खल्ला भएको पनि एक वर्ष वितिसक्यो । बारम्बार तालिका सार्वजनिक गर्ने र परिवर्तन गर्ने गर्दै आएको छ । कांग्रेस विवाद र हल्ला खल्लाका बीचमा जेनतेन वडा अधिवेशन सकेको छ काँग्रेसले ।

अझै कतिपय पालिकामा विवाद नै छ । धेरै जिल्ला अधिवेशन हुन सकेका छैनन् । केन्द्रीय महाधिवेशन कहिले हुन्छ अझै निश्चित छैन ।

कांग्रेसको महाधिवेशन भएका पालिका, क्षेत्र र जिल्ला पनि अधिकांश ठाउँमा मतदान नै भए । एकले अर्काको अस्तित्व स्वीकार गरेको देखिएन । एकले अर्कालाई तान्ने, पछार्ने र सिध्याउने परम्परा विकास भएको देखियो ।

कांग्रेसको आन्तरिक निर्वाचन निक्कै महंगो र खर्चिलो देखियो । आन्तरिक चुनावमा समेत कार्यकर्ता किनबेचका खेल चले । एकले अर्कालाई निषेधको राजनीति गरेको देखियो । यसले आम निर्वाचन कति खर्चिलो होला र कति विकृति भित्रेला भन्ने त्रास बढाएको छ ।

अझ केन्द्रीय महाधिवेशन कस्तो हुन्छ, त्यसमा खर्च कस्तो होला, नेता कार्यकर्ता कति खरिद बिक्री होलान्, त्यो हेर्न बाँकी नै छ ।

वाह्य साँठगाँठको हिसाबले पनि कांग्रेस पार्टीमा यतिबेला लोकतान्त्रिक विचलन आएको छ । बीपीले परिकल्पना गरेको कांग्रेस पार्टी उहाँको मार्गदर्शनबाट बाहिर गएको छ । सत्ता र शक्तिको लागि अहिले कांग्रेस गठबन्धनमा छ । त्यो पनि स्वभाविक गठबन्धन होइन, अत्यन्त अस्वभाविक गठबन्धन ।

यतिबेला कांग्रेस सत्ताको लोभमा कम्युनिष्ट, त्यो पनि माओवादी जसका नेताको कुनै समय कांग्रेसले टाउकाको मोल तोकेको थियो, त्यो पार्टीसँगको गठबन्धनमा छ । त्यो पनि छोटो समयको लागि होइन, निर्वाचनसम्मको लागि । निर्वाचनमा समेत कम्युनिष्टसँग गठबन्धन गरेर जाने कांग्रेसको निर्णय छ ।

नेपाली कांग्रेस लोकतन्त्र र आफ्नो लोकतन्त्र प्रतिको प्रतिवद्धता प्रति विश्वास गर्न नसक्ने भएको छ । कांग्रेस एक्लै चुनावमा समेत जाननसक्ने मनस्थितिमा पुगेको छ । यसले कांग्रेसमा लोकतान्त्रिक विचलन आएको कुरा भनिरहनै पर्दैन ।

अरु साना दलका कुरा गर्नै परेन । देशको अर्को ठूलो राजनीतिक दल भनेको नेकपा एकिकृत माओवादी केन्द्र । जो लोकतन्त्रमा त्यति विश्वास गर्दैन ।

माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलि धेरै मान्छे जम्मा भएको देख्ने वित्तिकै फेरि पनि क्रान्ति गर्ने, फेरि पनि लड्ने, फेरि पनि युद्ध लड्ने घोषणा गरिहाल्नु हुन्छ । त्यो पार्टीको न महाधिवेशन हुन्छ, न नेतृत्व परिवर्तन हुन्छ ।

केन्द्रले नेता तोकिदिन्छ । कार्यकर्ताले त्यसलाई स्वीकार्छन् । पार्टीका नेता कर्मचारी नियुक्ति भएजस्तै नियुक्त हुन्छन् । नेता कार्यकर्ताको बीचबाट जन्मदैन, नेताको नियुक्तिबाट जन्मन्छ ।

खैर अहिले माओवादी पार्टीले सो पार्टीको सम्मेलन गर्ने घोषणा गरेको छ । पुस महिनामा राष्ट्रिय सम्मेलन गर्ने भनेको छ, त्यो सम्मेलन कस्तो र कसरी हुन्छ हेर्न बाँकी नै छ ।

यतिबेला देशको सबैभन्दा ठूलो शक्ति, सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले महाधिवेशनको महायज्ञमा होमिएको छ । एमालेले महाधिवेशन घोषणा गरेको पनि धेरै समय भएको छैन । तर एमालेले महाधिवेशनका काम जादुमय हिसाबले गरेको छ ।

एकै दिन देशभरका सबै वडामा वडा अधिवेशन भए । त्यो पनि सर्वसम्मत रुपमा । एकले अर्काको अस्तित्व स्वीकार गरे । सम्मान सहयोग र सहकार्यको भावना अनूरुप नेतृत्व छानियो ।

वडाको मात्र होइन पालिका स्तरमा पनि देशभरि नै एकैदिन अधिवेशन भए । एकाध बाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भयो । मतदान भएका ठाउँमा पनि न कुनै हल्लाखल्ला, न कुनै तडक भडक अधिवेशन सकिए ।

पार्टीको सबैभन्दा ठूलो चाड १० औ केन्द्रीय महाधिवेशन यही मंसिर १० गतेबाट हुँदै छ । त्यसको लागि पनि एमालेले देशका ७७ वटै जिल्लाका संघीय निर्वाचन क्षेत्रमा शनिबार प्रतिनिधी छनोट गरेको छ ।

एउटा जिल्लाबाट २५ हजारसम्म संंगठीत सदस्य भेला भएर प्रतिनिधि छान्ने काम हो यो । त्यस्ता प्रतिनिधि छान्ने पार्टी सदस्य अधिकांश जिल्लामा १० हजार भन्दा बढी छन् ।
यति ठूलो जमघटबाट प्रतिनिधि छान्ने एमालेमा न कुनै हल्लाखल्ला छ । न कुनै तडक भडक छ । न कुनै होटल बुक गरेर कार्यकर्ता पालिएको छ , न कतै मतदान किनबेच र थुन छेक छ ।

अधिकांश जिल्ला र निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् । पार्टी सदस्यले सबैको अस्तित्व स्वीकारेका छन् । म तल भूगोलमा बस्छु तपाईँ प्रतिनिधि बनेर जानुस् भनेर एकले अर्को नेतालाई छाडेका छन् । समायोजना हुन आएका नेतालाई सम्मानपूर्वक प्रतिनिधि बनाएका छन् ।

कतिपय क्षेत्रमा अझै पनि सहमतिको प्रकृया जारी छ । सहमतिबाटै प्रतिनिधि टुङ्ग्याउने भनेर नेताहरु छलफलमा व्यस्त हुनुहुन्छ । सबैलाई मिलाएर लैजाने प्रयास जारी छ ।

कतिपयमा प्रत्यक्ष निर्वाचन पनि भएको छ । निर्वाचनबाट आएको परिणामलाई नेताहरुले सहर्ष स्वीकार्नु भएको छ । त्यहाँ मतपत्र च्याताच्यात भएको छैन, मतपेटीकामा लात्ते भकुण्डो हानाहान भएको छैन ।

देशभरी सम्पन्न भएको महाधिवेशन प्रतिनिधि चयनले एमालेको संगठनात्मक सामर्थ्यलाई उजागर गरेको छ । कुरा काट्नेको मुखमा बुजो लगाई दिएको छ । त्यसैले मन परे पनि नपरे पनि भन्न करै लाग्छ ‘संगठन कस्तो, एमालेको जस्तो ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !