१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परमादेश सरकारले गठन भएकाे दिनदेखि नै जात्रा देखाइरहेकाे छ-टोपबहादुर रायमाझी

प्रकाशित मिति :  २७ कार्तिक २०७८, शनिबार ११:१२


काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले वर्तमान परमादेश सरकारले दुनियाँमा कहिँ नभएकाे जात्रा देखाइरहेकाे बताउनुभएकाे छ ।

रिपाेर्टस् क्लबमा आज भएकाे साक्षात्कारमा नेता रायमाझीले परमादेश सरकारले गठन भएकाे दिनदेखि नै जात्रा देखाइरहेकाे बताउनुभयाे । नीति नियम भन्दा बाहिर गएर अध्यादेश जारी गर्ने, परमादेशबाट सरकार बनाउने लगायत जात्रा परमादेश सरकारले देखाइरहेकाे उहाँले बताउनुभयाे ।

आफ्नाे पार्टीकाे सरकार ढालेर विपक्षीकाे सरकार बनाइदिने जात्रा पनि देखिएकाे नेता रायमाझीले बताउनुभयाे । परमादेश सरकारले एक पछि अर्काे संविधान विराेधी काम गरेकाे पनि नेता रायमाझीले बताउनुभयाे ।

न्यायालयभित्रकाे विवादबारे पार्टीले प्रष्ट धारणा राखिसकेकाे भन्दै नेता रायमाझीले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने बताउनुभयाे ।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेतिर एमालेले साेच्दै नसाेचेकाे र यस विषमा आफूलाई अलग राखेकाे पनि नेता रायमाझीले प्रष्ट पार्नुभयाे । ‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौँ, यो पाँच दलीय गठबन्धन, सरकारका समर्थक, आफूलाई न्यायमूर्तिहरू ठान्नेहरू र वकिलहरूले ल्याएको विषय हो’-रायमाझीकाे भनाइ छ ।

विगतमा प्रधानन्यायाधीश लगायत न्यायमूर्तिले सहकार्य गरेर निर्णय गरेका र त्यसमा केही वकिलहरु समेत सामेल भएका अहिले पुष्टि हुन थालेकाे पनि नेता रायमाझीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘न्यायपालिकामाथि पनि अहिले जे–जे भइरहेको छ, चाहे त्यो परमादेशको सन्दर्भमा होस्, अध्यादेशको सन्दर्भमा होस, प्रधानन्यायाधीशलगायत न्यायाधीशहरूले सहकार्य गरेर कतिपय निर्णय गरिएको छ, जसमा वकिलहरूको पनि सहमति छ, बार एशोसिएसशनका पदाधिकारीहरूको पनि सहमति छ, उनीहरूको सहमतिमा काम गरिएको छ,बदमासी र गलत निर्णयहरू गरिएको थियो ।’

अदातमा देखिएकाे विवादमा प्रधानन्यायाधीशसँगै अरु पनि उत्तिकै दाेषी रहेका उहाँले बताउनुभयाे । नेता रायमाझीले भन्नुभयाे – ‘जनताबाट नांगिने अवस्था आएपछि दाेष जति प्रधानन्यायाधीशलाई थाेपरेर आफू पानीमाथिकाे ओभानाे बन्न खाेज्नुभएकाे छ, त्यसकाे वकालत नेपाल बार एशाेसिएशनले गरिरहनु त्याे भन्दा विचित्र के हुन सक्छ ?,निर्णय सबै न्यायमूर्तिहरूले गरेका हुन्,सबैले राजीनामा दिनुपर्‍यो, सबैले कारबाही भोग्नुपर्‍यो ।’ सरकारले न्यायापालिकालाई खिजाेल्ने काम गरेकाे नेता रायमाझीकाे भनाइ छ ।

नेता रायमाझीले परिमार्जन गरेरमात्र एमसीसी पास गर्नुपर्ने बताउनुभयाे । यद्यपि याे आफ्नाे व्यक्तिगत धारणा रहेकाे उहाँकाे भनाइ छ ।

दशाैं महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गरिने पनि नेता रायमाझीले बताउनुभयाे । ‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रूपमा सम्पन्न गर्‍यौँ, विधान पनि सर्वसम्मतिले पारित गर्‍यौँ, अब नेतृत्व चयन हुन्छ,अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं, सायद केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष हुनुहुन्छ, विधान महाधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ’- उहाँले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !