१४ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सडकसँग शैलुङ्गको खेती र किसानको जीवनमा परिवर्तन

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार ०७:०४


रामेछाप । ‘सडक नआउँदासम्म न बाहिरको समान किनेर ल्याउन सकिन्थ्यो, न यहाँ उत्पादन भएको सामान बेच्न पाइन्थ्यो, सडक आएपछि त शैलुङ्ग क्षेत्र स्वर्ग भएको छ’, शैलुङ्ग धाराका दावासंवु शेर्पा भन्नुहुन्छ ।

प्रकृतिको बरदानको रुपमा रहेको स्वर्गभूमि शैलुङ्गमा उत्पादन नहुने केही छैन । तर सडक नहुँदा किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन सकेका थिएनन् । शैलुङ्गमा सडक पुगेसँगै खेती प्रणाली र किसानको जीवनशैली पनि परिवर्तन भएको छ ।

गाउँमा सडक नपुग्दासम्म सैलुङ्गमा परम्परागत खेती हुन्थ्यो । लेकको चिसो हावापानी एकबाली मकै पाक्न आठदेखि नौ महिना लाग्छ । गहुँ पाक्न त्यस्तै ढिलो । वर्षमा एकबाली भन्दबढी नलाग्ने । दुई वर्षमा बढीमा तीन बालीसम्म फलाउन सकिने ।

उत्पादन गरेर पनि के गर्नु, बिक्रीको लागि बजार पुर्याउन त्यतिकै गाह्रो । गहुँ, कोदो र मकै घरमै खपत हुन्थ्यो । आलु भने बिक्रीको लागि बजार पुर्याउनु पर्ने । ‘ढाकरमा आलु बोकेर सिन्धुपाल्चोकको मुढे बजार पुर्यायो, दिनभरीमा गाउँबाट मुढे पुगिन्थ्यो, आलु बेच्यो, नुन मट्टितेल किन्यो, फेरी भारी बोकेर गाउँ फर्कियो’, विगतलाई सम्झँदै शेर्पाले भन्नुभयो ।

रामेछापको दोरम्बा, टोकरपुर, डडुवा, गौश्वारा लगायतका क्षेत्रको मुख्य बजार नै मुढे थियो । स्थानीय उत्पादन बजारमा पुर्याउनु पर्यो भने पनि त्यहीँ, केही किनेर ल्याउनु पर्यो भने पनि त्यहीँ । गाउँबाट मुढे पुगेर आउन दुई दिन लाग्थ्यो ।

भारी बोकेर जाऊ , राति बास बस, भोलिपल्ट फर्क । गाउँबाट लगेको स्थानीय उत्पादन बोटो खर्चमै सकिन्थ्यो । घर फर्कँदा खालि हात ।

दश वर्ष अगाडि काठमाडौ र मन्थलीबाट दोरम्बा हुँदै शैलुङ्गसम्म मोटरबाटो जोडियो । त्यस पछि शैलुङ्गबासीको दिन पनि चम्किए ।

स्वादिलो र गुणस्तरीय भएकोले शैलुङ्गको आलु काठमाडौं लगायतका बजारमा पुग्यो । स्वादिलो भएकोले शैलुङ्गको आलुको बजारमा माग ह्वात्तै बढ्यो ।

बजारमा आलुको माग बढेसँगै व्यापारीहरु आलु किन्न शैलुङ्गमा नै पुग्नलागे । किसानको बारीमा नै आलु उठाउन व्यपारी पुगेपछि आलुले भाउ पनि राम्रो पायो । त्यस पछि मकै, कोदो लगाउन छाडेर किसान आलु खेती लगाउन लागे ।

आलु मात्र होइन राम्रो आम्दानी हुन लागेपछि शैलुङ्गका किसान तरकारी खेतीमा लागे । अहिले शैलुङ्ग तरकारी खेतीको व्यवसायीक केन्द्र बनेको छ । ‘यहाँका किसानले परम्परागत खेती छाडिसके, अहिले आलु र तरकारी खेती लगाउँछन्, काउली, बन्दा, मुला, गाँजर लगायतको तरकारी राम्रो उत्पादन हुन्छ, सबैको बारीमा तरकारी र आलु बाहेक देख्न पाईँदैन’, उहाँले भन्नुभयो ।

अहिले शैलुङ्गका किसानको बारी आलु र बन्दाले ढाकेको छ । बन्दा र काउली बजार पठाउने बेला भएको छ । किसानको बारी तरकारीले सिंगारिएको छ ।

परम्परागत खेतीबाट व्यवसायीक खेतीमा लागेका कारण किसानको आम्दानी र जीवनशैलीमा परिवर्तन आएको छ । शैलुङ्ग क्षेत्रका अधिकांश बालबालिका अहिले काठमाडौंमा पढ्छन् । किसानले वर्षको दुईचार लाख खेतीबाटै कमाएका छन् । सडकसँग शैलुङ्गको खेती र किसानको जीवनमा पनि परिवर्तन आएको छ ।



प्रतिक्रिया दिनुहोस !