१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज श्रीकृष्ण जन्माष्टमी पर्व

प्रकाशित मिति :  १४ भाद्र २०७८, सोमबार ०४:४१


काठमाडाैं । आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवान् श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाईंदैछ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन याे पर्व मनाउने गरिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाे सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौं सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाईंमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

श्रीकृष्ण जन्माष्टमीकाे दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिन्छ । विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यसरी व्रत बसेर पूजाआजा गरे भगवान श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव समेत मनाउने गरिन्छ । आजकाे दिनलाई सानाे तिज (हरितालिका) समेत भन्ने गरिन्छ ।

काेभिडका कारण गत वर्ष जस्तै याे वर्ष पनि सबै नेपाली चाडपर्व ओझेल परेका छन् । भीभाडमा जाँदा काेभिड संक्रमण अझ फैलिन भन्दै सरकारले घरमै बसेर पूजा आराधना गर्नु आग्रह गरेकाे छ ।

कृष्ण अष्टमीका दिन ललितपुर पाटनको मंगबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा गत वर्ष जस्तै याे वर्ष कोभिडले गर्दा स्थगित गरिएकाे छ । गत वर्ष आजको दिन पाटनकाे कृष्ण मन्दिरसँगै, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिर र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना गरिन्थ्याे । तर याे वर्ष यी मन्दिर बन्द गरिएकाे छ । पाटककाे कृष्ण मन्दिर आज नखुल्ने बताइएकाे छ ।

कृष्ण अष्टमीका अवसरमा रथयात्रा र शोभायात्रा गर्ने प्रलन पनि छ । याे पनि काेभिडकै कारण प्रभावित भएकाे छ । काठमाडाैं उपत्यकाका अझ धेरै संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीड नगर्न, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हरेक अपिल गरेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !