१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै प्रक्रिया सकिएकाे ३० दिनभित्र नेपालीलाई इजरायल पठाउँछाैं – डम्बर सुनुवार

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार ०७:३६


काठमाडाैं । लामाे समयपछि नेपाली श्रमिकहरु इजरायल जान पाउने भएकाे छन् ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलले सरकारी संयन्त्रमार्फत पहिलो चरणमा १ हजार जना नेपाली लैजाँदैछ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छन् । इजरायल जाने नेपाली श्रमिकका लागि आकर्षक तलब लाेकिएकाे छ ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (एक लाख ९० हजार रुपैयाँ) छ । १ लाख ६५ हजार रुपैयाँ लागत लाग्ने छ । इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्नुपर्नेछ । इजरायल जान सरकारले ताेकेकाे मापदण्ड अनुसार विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ ।

सबै प्रक्रिया सकेको ३० दिन भित्र कामदारहरुलाई इजरायल पठाइसक्ने याेजना रहेकाे वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताउनुभयाे । सनराइज खबरसँगकाे कुराकानीमा उहाँले भन्नुभयाे – ‘सबै प्रक्रिया सकिएकाे ३० दिनमै नेपालीलाई इजरायल पठाउनेगरी काम गरिरहेका छाैं ।’

इजरायल जान इच्छुक कामदारका लागि विभागले साउन १२ देखि अनलाइनमार्फत आवेदन लिइरहेकाे छ । साउन मसान्तसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ । आवेदन दिएका आवेदकबाट प्राप्त कागजातलाई छानबिन गरी विभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृति गर्नेछ । त्यसका लागि छनोट समिति समेत बनाइएकाे निर्देशक सुनुवारले जानकारी दिनुभयाे ।

सरकारी स्तरबाट नै कामदार जाने हुँदा ठगिने झन्झट पनि श्रमिकले बेहाेर्नुपर्दैन ।  सरकारले ग तवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय कामदार पठाउने समझदारी गरेको थियो । नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्रमार्फत नै श्रमिक भर्ना गर्ने गरी श्रम सम्झौता पनि भएको थियो ।  साेही अनुसार नेपालको तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एण्ड इमिग्रेसन अथोरीटी (पीआईबीए) ले कामदार छनोट र भर्ना प्रक्रिया हेर्ने छ ।

कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरिया भन्दा पनि आकर्षक गन्तव्य मानिन्छ । छानिएको कामदारले ५ वर्षसम्म काम गर्न पाउँछन् । सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने सुनुवारले बताउनुभयाे । बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउँने बताउँदै उहाँले भन्नुभयाे – ‘नेपालबाट इजरायल सम्मको हवाई टिकट भने एकलौटी रुपमा सरकारले नबेहोरी श्रमिकले केही प्रतिशत बेहोर्नुपर्नेछ वा त्योपनि बेहोर्नु नपर्ने हुनसक्छ र परीक्षा निष्पक्ष हुने पनि उहाँले बताउनुभयाे ।।’

इजरायलसँग साउन ०७२ मा नेपालबाट केयर गिभर लैजाने समझदारी भएको थियो । सुरुको २ वर्षमा इजरायलले करिब १ सय १० जनालाई मात्रै सरकारी तवरबाट रोजगारी दियो । त्यसपछि राेकिएकाे प्रक्रिया अहिले सुरु भएकाे हाे ।

कसरी जान पाइन्छ इजरायल ?

– आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

– आवेदकको उचाई कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्नेछ ।

– आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल  गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्गसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

– आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्नेछ ।

– आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्नेछ ।

– आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

– आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्नेछ ।

– रोजगारीमा जाने व्यक्ति कम्तिमा १.५ मिटर उचाई र ४५ केजी तौल भएको हुनुपर्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !