२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओढारमा २२ नाल भरुवा बन्दुक

प्रकाशित मिति :  ११ श्रावण २०७८, सोमबार ०६:१७


गलकोट । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ ।

आइतबार दिउँसो प्रहरीचौकी बुंगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको हवारीले जानकारी दिनुभयो । प्रहरीले भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि स्थानीयवासीले डराएर ओढारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ ।

‘बागलुङको पश्चिम क्षेत्रमा भरुवा बन्दुक लुकाउने र शिकार खेल्ने परिपाटी रहेछ, हामी निस्तेज पार्ने अभियानमा छौँ’, प्रनाउ हवारीले भन्नुभयो, ‘प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओढारमा त केहीले जंगलमा लुकाउन थालेका हुन् ।’

ओढारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !