१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नदीले उखु र धान खेती बगाउन थालेपछि स्थानीय चिन्तित

प्रकाशित मिति :  ८ श्रावण २०७८, शुक्रबार ०५:२०


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ ।

लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो । स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पु‍‌र्‍याउन थालेको स्थानीयवासी मंगलप्रसाद चौधरीले बताउनुभयो ।

‘दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ’, उहाँले भन्नुभयो, ‘जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ ।’ उहाँका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ । दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पुर्‍याएको छ ।

विगतमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरेको थियो । नदीको धार परिवर्तन भई जैविक तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटान अधिक हुन थालेको छ । ‘विपद् व्यवस्थापन समितिमा आबद्ध समुदायका व्यक्तिहरुले संरक्षण गरेको बगर बनेको छ’ स्थानीयवासी रामदास रानाले भन्नुभयो, ‘बगर नदीले कटान गरी बगाएपछि स्थानीय बासिन्दाले उखु र धानखेती गरेको उब्जाउ जग्गासमेत बगाउन थालेको छ ।’

नदीले उब्जाउ जग्गा कटान गर्न थालेपछि निकै चिन्तित भएको उहाँले बताउनुभयो । नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्ती नै बग्ने खतरा बढेको छ । बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा छन् । तटबन्ध निर्माणका लागि जल उत्पन्न तथा सिँचाइ डिभिजन कार्यालयमार्फत पटक–पटक अनुरोध गरे पनि लकडाउनको कारण देखाउँदै तटबन्ध निर्माण अगाडि नबढाइएको स्थानीय बासिन्दाको गुनासो छ ।

‘बर्सात हुने दिन अझै बाँकी नै छन्’ स्थानीयवासी बालसुग्रिब रानाले भन्नुभयो, ‘खेती गरेको जग्गा नदीले कटान गरी बगाउन थालेपछि भोकमरीको समस्या खेप्नुपर्ने बाध्या त छ नै, नदी नियन्त्रणका लागि पहल नभए बस्ती नै विस्थापनमा पर्ने भएको छ । परिवार लगेर कुन ठाउँमा गएर बस्ने अर्को पिरलो छ ।’

विसं ०६४ मा नदीको बाढीले यस क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापनमा परेका थिए । नदी नियन्त्रणका लागि स्थानीय बासिन्दाले रेडक्रससँग मिलेर जैविक तटबन्ध निर्माण गरी बगर संरक्षणमा जोड दिएका थिए । नदीको जोखिम रहेका क्षेत्रमा बाँसको तटबन्ध निर्माण गरी बगरमा घाँस रोपेर जग्गा कटानी हुने कार्य रोकेका थिए । हाल त्यही क्षेत्रमा नदी बहाव बढ्दा कटान हुन थालेको छ ।

स्थानीय बासिन्दाले तारजाली र ढुङ्गाको स्थायी प्रकृतिको तटबन्ध निर्माण गरी बस्ती जोगाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !