२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मैले चिनेको माधव नेपाल अहिलेको माधव नेपाल होइन : माधव ढुंगेल

प्रकाशित मिति :  ८ श्रावण २०७८, शुक्रबार ०५:१८


काठमाडौं ।  नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले विपक्षको मोर्चासँग सम्बन्ध गाँसी आफ्नै पार्टी र सरकारलाई असफल बनाउने खेलमा लागेर माधव नेपालले अक्षम्य अपराध गर्नुभएको बताउनुभएको छ ।

कांग्रेस माओवादीसँग मिलेर आफ्नै पार्टी सिध्याउने काम माधव नेपालले गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो दुर्भाग्यपूर्ण र दुखद छ ।’

संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलियताको कल्पना नगरेको पनि उहाँले प्रष्ट पार्नुभयो । सो उपधाराले प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको नेता मात्र होइन प्रतिनिधि सभाका कुनै पनि सदस्यले पाउने मात्र व्यवस्था गरेको उहाँले बताउनुभयो । ‘उपधारा ५ ले दलको ह्वीप नै नलाग्ने, सांसद्हरु स्वतन्त्र हुने परिकल्पना गरेकै होइन, दलीय अनुशासन मान्नु नपर्ने यो फैसलाले दलीय व्यवस्था माथि नै प्रहार गरेको छ’, उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतलाई कानुनको व्याख्या गर्ने अधिकार भए पनि शेरबहादुरलाई प्रधानमन्त्री बनाउने फैसलामा अदालतले संविधान नै संशोधन गरेको ढुंगेलको ठम्याइ छ । ‘यसले व्यवस्थापिका र न्यायपालिकाको शक्ति सन्तुलनलाई नै खल्बल्याएको छ’, ढुंगेलले भन्नुभयो ।

सडक आन्दोलनबाट परिवर्तन गर्न सकिने कुरा सर्वोच्चको फैसलाबाट  भएको भन्दै ढुंगेलले असन्तुष्टि जनाउनुभयो । ‘सर्वोच्च अदालतले एक पछि अर्को राजनीतिक निर्णय गरिरहेको छ, यतिबेला नेकपा एमाले माथि सर्वोच्च अदालतले शासन गरिरहेको छ’, उहाँले भन्नुभयो ।

विपक्षी मोर्चामा गएर पार्टी विरुद्ध गतिविधि गर्नेहरु कारबाहीको दायरामा आउने उहाँले प्रष्ट पार्नुभयो । पार्टीका विरुद्ध जसले भोट हाल्नु भएन, त्यसो गर्न उहाँहरुलाई नैतिकताले दिएन, उहाँहरुसँग पार्टीले छलफल गरिरहेको ढुंगेलले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटी बैठकले एमालेको कार्यदलले तयार गरेको १० बुँदे सहमतिलाई स्वीकारेकोेले अब पार्टी त्यही अनुसार अघि बढ्ने उहाँले बताउनुभयो । ‘पार्टीमा फर्केर आउनेलाई यथोचित सम्मान र व्यवस्थापन, फर्किएर आउनुहुन्न पार्टी रोकिँदैन, पार्टी आफ्नो गतिमा अघि बढ्छ, त्यसको रचनात्मक कार्यान्वयन यही नै हो’, १० बुँदे सहमति कार्यान्वयन बारे उहाँले प्रष्ट पार्नुभयो ।

१० बुँदे कार्यान्वनयको लागि माधव नेपालले ६ बुँदा पठाएकोमा ती ६ वटै बुँदा १० बुँदेमा लेखिएको उहाँले बताउनुभयो । नेपालको तर्फबाट घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले लेखेर दिएको कुरा पार्टीले त्यही स्वीकार्ने भनेको उहाँले बताउनुभयो । ‘तर माधव नेपालले पछि फेरि मान्नु भएन, उहाँले नै भनेको चिज मान्नुभएन’, ढुंगेलले भन्नुभयो ।

माधव नेपालको गतिविधिले पार्टी एकता नै नरुचाएको ढुंगलेको दाबी छ । माधव नेपालले एक पछि अर्को बखेडा निकाल्दै गएको उहाले बताउनुभयो । ‘मैले माधव नेपालसँग राम्रै संगत गरेको हो, यस्तो माधव नेपाल मैले चिनेको होइन, सहमति सहकार्य गर्ने, आफू तलै परेर भए पनि पार्टी बचाउनुपर्छ भन्ने माधव नेपाल मैले चिनेको हो, आज मैले जुन माधव नेपाल देखेको छु त्यो माधव नेपाल मैले चिनेका माधव नेपाल नै होइन, पार्टीको विपक्षमा भोट हाल्ने माधव नेपाल मैले कल्पना गरेको माधव नेपाल नै होइन, उहाँ कसरी त्यहाँ पुग्नुभयो वा कसैले पुर्यायो ? यो आश्चर्यजनक कुरा छ’, लामो समयसम्म माधव नेपलको निकट रहेर काम गर्नुभएका ढुंगेलले भन्नुभयो ।

एउटा कुनै व्यक्तिको आग्रह र आक्रोशमा माधव नेपालले यति ठूलो  गलत निर्णय गरेको उहाँको तर्क छ । ‘यो निर्णयले न उहाँको भविष्यलाई सुरक्षित गर्यो, न उहाँको इज्जत बढायो, न पार्टी एकतालाई सुदृढ गरायो, न बाम आन्दोलनलाई सक्षम बनायो, माधव नेपाललाई खलपात्र बनाउने काम मात्र गर्यो’, उहाँले भन्नुभयो ।

माधव नेपाल जस्तो १५ वर्ष एमाले पार्टीको नेतृत्व गरेको नेता यति तल झर्नुहोला भन्ने कसैले परिकल्पना नै नगरेको ढुंगेलका भनाइ छ । माधव नेपालले लिएको बाटोले जिन्दगीभरि उहाँलाई चैनले सास फेर्न नदिने ढुंगेलले बताउनुभयो । ‘मलाई लाग्छ हिजोआज माधव नेपाल रातभरि निदाउनुहुन्न होला, उहाँलाई पक्कै पनि शान्ति दिएको छैन, आफ्नै जिन्दगीलाई अशान्त बनाउने यस्तो निर्णय माधव नेपालले किन लिनुभयो ? यसमा कतै देशी विदेशी शक्तिको हात त छैन ?’, उहाँले प्रश्न गर्नुभयो ।
नेकपा एमालेलाई सिध्याउन ५ अरब रुपैँया पाण्डस्टटर्लिङ हुण्डिबाट नेपाल आएको चर्चा चलिरहेको उहाँले खुलासा गर्नुभयो । पार्टी भित्रका मान्छे प्रयोग गर्ने, सांसद किन्ने, केन्द्रीय सदस्य किन्ने, पार्टी कब्जा गर्ने सम्मका कुरा बजारमा आएको छ तर, यो अभिष्ट पूरा हुँदैन’, ढुंगेलले राजनीतिमा भइरहेको नयाँ खेल पनि सार्वजनिक गर्नुभयो ।

पार्टी एकताको प्रक्रिया निरन्तर चल्ने प्रक्रिया भए पनि पार्टी एकताको नाममा मिल्दै नमिल्ने मनलाई जर्वजस्ती मिलाउन नसकिने उहाँले बताउनुभयो । ‘अहिले माधव नेपाललाई केन्द्रीय कमिटी बैठकमा ल्याइयो भने केन्द्रीय सदस्यले थुक्ने खतरा छ, पार्टीमा यस्तो स्थिति निर्माण भएको छ, त्यसैले अहिले भनेजस्तौ एकता नहुन पनि सक्छ, तर पार्टीको मूल स्प्रिड अघि बढ्छ’, ढुंगेलले भन्नुभयो ।

उहाँले केपी शर्मा ओलीको सरकारले गरेका कामलाई इतिहासले सम्झने दाबी पनि गर्नुभयो । केपी ओलीका कमजोरीलाई चर्चा गरेर उहाँले गरेका राम्रा कामलाई छायाँमा पर्ने कुरा स्वीकार्य नभएको उहाँले बताउनुभयो । सारमा हेर्दा राष्ट्र, राष्ट्रियता र विकासका काम गरेर संसारको ध्यान आफूतिर खिच्न केपी ओली सफल भएको उहाँको भनाइ छ । ‘केपी ओली दक्षिण एसियाकै फ्रन्ट लिडरको रुपमा स्थापित हुनुभएको छ’, उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !