१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज ३९औं वीपी स्मृति दिवस मनाईंदै

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार ०४:४७


काठमाडाैं । आज ३९ औं वीपी स्मृति दिवस, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका वीपीकाे सम्झनामा कांग्रेसले भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गर्दैछ । विगत वर्षहरूमा वीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र वीपी सङ्ग्रहालयले देशभर विभिन्न कार्यक्रम गर्ने गर्थे । तर गत वर्ष जस्तै याे वर्ष पनि कोभिड जाेखिमका कायमै रहेकाले सार्वजनिक रूपमा धेरै मानिस जम्मा हुनेगरी कार्यक्रम तय छैनन् ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व गर्नुभएकाे थियाे । उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने लाेकप्रिय भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभएकाे थियाे ।

जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । निर्वासनमै वीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभयाे ।

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न ००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा ००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि ००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले सरकारमा छ ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा-कांग्रेस सरकारमा वीपी गृहमन्त्री बन्नुभयो । ०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो ।

०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित जीवन बिताएपछि ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि नेपालकाे राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

स्वदेश फर्कनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि वीपीबाट लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई अहिले वीपी सङ्ग्रहालय बनाइएकाे छ ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित  छन् । त्यसैगरी दुई कथासङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छ ।

विसं १९७१ भदौ २४ मा जन्मनुभएका काेइरालाकाे क्यान्सर रोगका कारण ०३९ साउन ६ गते निधन भयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !