१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकामा तहल्का मच्चाउँदै नेपाली निर्देशक र कलाकारहरु

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार १२:५८


काठमाडौं । नेपाली फिल्म ‘घर आउ’ ले विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा ठाउँ पाउन थालेको छ । कैयन फिल्म फेस्टिभलहरुका लागि यो फिल्म छनौट भएको छ ।

कम होम अर्थात् ‘घर आउ’ फिल्म अमेरिकामा रहेका नेपाली कलाकारहरुले बनाएका हुन् । यो सर्ट मुभि अमेरिकामा रहेका छोरा र नेपालमा रहेकी आमाको कथामा आधारित छ ।

फिल्ममा नेपालमा रहेकी आमाले घर आउ भनेर छोरालाई भन्छिन् । कारण हो– कोभिड महामारी । आमाको भूमिका निर्वाह गरेकी छिन् उमादेवी विश्वकर्माले । छोराको भूमिकामा सौरमराज तुलाधर ।

सौरमराज नेपाली चलचित्रका नायक हुनुहुन्छ । उहाँको अभिनय रहेको जिन्दगी रक्स फिल्मले राम्रैसँग बजार पिटेको थियो । अहिले अमेरिकामा फिल्म सम्बन्धी नै पढाई गरिरहनुभएका सौरम त्यहाँ मोडलिङ इन्डष्ट्रिमा जम्दै जानुभएको छ । अमेरिकाको महंगो मोडलिङ कर्मका बीच समय निकालेर उहाँले ‘घर आउ’ मा अभिनय गर्नुभएको बताइएको छ ।

घर आउ फिल्ममा आमा र छोराको भिडियो कलसँगै कथा अगाडि बढ्छ । घरघरको चिन्ता, घरघरको कथा अनि घरघरको व्यथा बोकेको छ फिल्मले । कोभिड महामारीले पूरै विश्व चिन्तित बनाइरहेको बेला त्यही चिन्तालाई एउटा परिवारको कथाव्यथामा उतारिएको छ ।

फिल्मको निर्माता निर्देशक हुनुहुन्छ किर्तना बान्सकोटा । कोभिड महामारीबीच नेपाली समाजमा चिन्ताको महामारी पनि फैलियो । चिन्ताको त्यो महामारीलाई ‘घर आउ’मा जिवन्त बनाएर उतारेका छन् कलाकारहरुले ।

‘घर आउ’ फिल्म टोली अहिले दंग छ । किनभने विश्वका चर्चित फिल्म फेस्टिभलमा ‘घर आउ’ चयन भएको छ ।

अमेरिका पढ्न गएका सौरमराज अर्थात् सिडको पढाई रोकिन्छ, लकडाउ नमा कैद हुन्छन् । यता आमा व्यग्र हुन्छिन् । अहिले पढाई छैन, त्यसैले खुरुक्क घर आउनु भनेर आमाले कडा आदेश दिन्छिन् । आमाको आदेश जति कडा हुन्छ, माया उति धेरै हुन्छ । यो भावलाई सफलतासाथ उतार्नु निर्देशक किर्तना बान्सकोटाको असामान्य सफलता हो ।

बान्सकोटा फिल्मस्ले अमेरिकामा आधारित रहेर यो छोटो फिल्म बनाएको हो । बान्सकोटा फिल्म अमेरिकामा पनि सक्रिय छ भने नेपाली चलचित्रको नायकका रुपमा परिचय बनाइसकेका सौरमराज पनि अमेरिकामा सिनेकर्ममै व्यस्त छन् । तर, उमादेवीको भने अभिनय र सिनेकर्मसँग विगतमा खासै सम्बन्ध थिएन ।

अनुभवहीन उमादेवीलाई बान्सकोटा फिल्मस्ले आमाको भूमिकामा प्रस्तुत गरेको छ । तर, उनले खारिएको र जिवन्त अभिनय गरेकी छिन् ।

सार्थक फिल्म निर्माणमा रुची राख्ने किर्तनाको यो पहिलो फिल्म होइन । ‘स्नेही काख’ वृत्तचित्र बनाएर फिल्म निर्देशनमा किर्तनाले आफूलाई अब्बल सावित गरिसकेकी छिन् । ‘घर आउ’ले कीर्तनालाई विश्व स्तरीय निर्देशकका रुपमा उभ्याएको छ । उनको निर्देशकीय क्षमता, गहिरो दृष्टिकोण र कलात्मक शैली ‘घर आउ’ मा प्रकट भएको छ ।

‘घर आउ’ फिल्म चर्चित बनेपनि सर्वसाधारणले सजिलै हेर्न पाउँदैनन् । फिल्म फेस्टिभलहरुमा मात्र यो फिल्म हेर्न पाइन्छ । अस्टिन लिफ्ट अप फिल्म फेस्टिभलमा ‘घर आउ’ ले अडियन्स च्वाइस अवार्ड हात पारिसकेको छ ।

‘घर आउ’ भ्यान्कुभर इण्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा छनौट भएको छ । त्यसैगरी न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल, टोकियो लिफ्ट अफ फिल्म फेस्टिभलमा पनि छनौट भएको छ । त्यसैगरी टर्कीमा हुने फिल्म फेस्टिभलमा पनि छनौट भइसकेको छ ।

आगामी दिनमा ‘घर आउ’ टोली फिल्म फेस्टिभलहरुमा प्रदर्शनमा व्यस्त हुनेछ । ‘घर आउ’ को सफलतासँगै निर्देशक कीर्तना र सौरमले अन्य केही फिल्म प्रोजेक्टहरु थाल्न लागेको बताइएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !