१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माथिल्लो तामाकाेशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दै,प्रम ओलीले उद्घाटन गर्नुहुने

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार ०२:२६


काठमाडाैं । माथिल्लो तामाकाेशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ ।

कुल ४५६ मेगावाट क्षमताको साे आयोजनाले पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न लागेको हो । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी आयाेजना स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुहुनेछ ।

आयोजनाले आइतबार विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलव २ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

जिआइएससमेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो ।

आजदेखि भने ती उपकरणलाई लोडमा चलाइने छ । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।

माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली न्यू खिम्ती सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोड्ने काम असार १३ देखि असार १९ सम्म सकिएकाे नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोडिएको छ ।

आयोजनाले यही असार मसान्तभित्रै १ सय ५२ मेगावाट बिजुली उत्पादन गर्नेछ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !