१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु

प्रकाशित मिति :  १७ असार २०७८, बिहीबार ०३:३२


काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्काे सिफारिसमा आज अपराह्न ४ बजेका लागि राष्ट्रिय सभाकाे अधिवेशन आह्वान गर्नुभएको छ । बर्खे अधिवेशनको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बस्नेछ ।

काेभिड जाेखिम कायमै भएकाले सांसद्हरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बस्न सकिने व्यवस्था बैठक कक्षमा गरिएकाे छ । खाेप लगाउन छुटेका सांसद्लाई खोप लगाउने र काेभिड परीक्षण गर्ने काम पनि भइसकेकाे छ ।

बैठककाे सुरुमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाचन गरेर सुनाउनुहुने कार्यसूची तय गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची पनि तय भएकाे छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र  शपथ सम्बन्धी अध्यादेश, २०७८ पेस गर्नुहुने लगायत कार्यसूची छ ।

५९ सदस्यीय राष्ट्रिय सभाको सातौँ अधिवेशन गत पुस १७ गते सुरु भइ २६ गते अन्त्य भएको थियाे । यसबीचमा पार्टी छाेडेर एमालेमा लागेकालाई माओवादीले कारबाही गरेपछि रिक्त भएकाे ठाउँमा राष्ट्रिय सभा सदस्यकाे उपचुनाव सम्पन्न भएकाे छ । गत जेठ ६ र १७ गते भएकाे साे चुनावबाट डा. खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र द‍ृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) निर्वाचित हुनभएकाे छ ।

राष्ट्रपतिले मन्त्रिपरिषद्काे सिफारिसमा संघीय संसद्काे दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । हाल प्रतिनिधि सभा विघटन भएकाले राष्ट्रिय सभाकाे अधिवेशन मात्र बाेलाइएकाे हाे ।

यस्ताे छ पहिलाे बैठककाे सम्भावित कार्यसूची:

राष्ट्रपतिको पत्र

१    सम्माननीय अध्यक्षले अधिवेशन आह्‍वान सम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

राष्ट्रपतिको कार्यालयको पत्र

२.    सम्माननीय अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

     अध्यादेश     

३.    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुने:-
(क)    संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
(ख)    शपथ सम्बन्धी अध्यादेश, २०७८

४.    माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः-
(क)    नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८
(ख)    बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७
(ग)    नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
(घ)    सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
(ङ)    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

५.    माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः-
(क)    फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
(ख)    यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

६.    माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः-
(क)    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
(ख)    कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८
(ग)    औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

 शोक प्रस्ताव     

७.    सम्माननीय अध्यक्षले पूर्व राष्ट्रिय सभा सदस्यहरू गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा. विदुर पौडेल, पूर्व प्रतिनिधि सभा सदस्यहरू एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्ण सिंह परियार एवम् संविधान सभा सदस्यहरू दिनेशचन्द्र यादव, अशोक कोइराला, नविन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्नुहुने ।


0
Shares

प्रतिक्रिया दिनुहोस !