४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्छ-प्रचण्ड

प्रकाशित मिति :  १२ असार २०७८, शनिबार १२:०२


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा केही दिनमै प्रधानमन्त्री बन्ने बताउनु भएकाे छ ।

आफू सम्मिलित विपक्षी गठबन्धनले राजनीतिक बिटका पत्रकारसँग शनिबार नयाँ बानेश्वरमा गरेकाे छलफलमा प्रचण्डले त्यसाे भन्नुभएकाे हाे । ‘सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर शेरबहादुर देउवा जीलाई प्रधानमन्त्री तोक्नुपर्छ,अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन’- प्रचण्डकाे भनाइ छ ।

सर्वोच्चले संविधानअनुसार, लोकतान्त्रिक मूल्यमान्यताअनुसार फैसला गर्ने  उहाँकाे भनाइ छ । १ सय ४९ जना सांसद्को हस्ताक्षर र १ सय ४६ सांसद्को रिट सर्वोच्चमा रहेकाले देउवालाई प्रधानमन्त्री घाेषणा गर्नुपर्ने प्रचण्डले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले अदालतमा ‘सेटिङ’ गरेको आरोप आफूलाई लगाउनु भएकाे भन्दै उहाँले त्यस्तो कुनै सेटिङ नरहेको बताउनुभयाे । बरु  प्रधानमन्त्री ओलीले नै अदालतलाई धम्क्याउन थालेको प्रचण्डकाे आराेप छ । कहिले महान्यायाधिवक्ता र कहिले सार्वजनिक मन्तव्यमार्फत ओलीले अदालतलाई थर्काउने काम गर्नुभएकाे आराेप पनि प्रचण्डले लगाउनुभयाे ।  ‘हामी लोकतन्त्र र गणतन्त्रका लागि लडेका नेता हौँ, केपी ओली गणतन्त्रका लागि लडेका नेता होइनन, उनी गणतन्त्र हुँदैन भन्ने नेता हुन्’- प्रचण्डकाे भनाइ छ ।

विपक्षी गठबन्धन लामो समयसम्म अघि बढ्ने दाबी गर्दै प्रचण्डले भन्नुभयाे – ‘याे गठबन्धन मुद्दामा आधारित भएर बनेको हो, शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौं, हामीले नै देउवालाई प्रधानमन्त्री अफर गरेका हौं, उहाँले मागेको होइन ।’ आफूहरुकाे लडाईं प्रधानमन्त्री बन्नका लागि नभएकाे दाबी गर्दै प्रचण्डले भन्नुभयाे – ‘यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन,ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न याे गठबन्धन बनेकाे हाे ।’

अहिले शासन सञ्चालन गर्नेहरुबाट संविधान मिच्ने काम भएकाे पनि प्रचण्डले बताउनुभयाे । प्रचण्डले संविधानका मूलभूत मान्यतालाई अहिले रक्षा गर्न नसके देश अप्ठ्यारो जाने पनि बताउनुभयाे ।

प्रचण्डले पाँच पूर्व प्रधानमन्त्रीद्वारा जारी वक्तव्यको अन्तर्य बुझ्नेलाई इसारा काफी रहेको दाबी गर्नुभयाे । विदेशी हस्तक्षेपको बारेमा आफूहरुले संयुक्त विज्ञप्तिको दुई लाइनमा प्रष्ट लेखेको भन्दै उहाँले आफूहरुलाई धेरै एक्सपोज नगर्न आग्रह पनि गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !