४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अदालतको संवैधानिक इजलासमा राष्ट्रपति र प्रधानमन्त्रीलाई मार्ने खालको विचार व्यक्त

प्रकाशित मिति :  १२ असार २०७८, शनिबार ०८:०५


काठमाडौं । ‘प्रधानमन्त्री र राष्ट्रपतिलाई मार्ने’– यो हदसम्मको नियत विपक्षी गठवन्धनबाट बारम्बार प्रकट हुन थालेको छ ।

केही दिन पहिले कांग्रेसका प्रदेश सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने भन्नुभएको थियो । पछि उहाँले अभिव्यक्ति फिर्ता लिनुभएको थियो । अहिले आएर सर्वाेच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रपति र प्रधानमन्त्रीलाई मार्ने खालको विचार व्यक्त भएको छ ।

माओवादी केन्द्रका नेता तथा अधिवक्ता रमणकुमार श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नुपर्ने खालको विचार राख्नुभएको हो ।

उहाँले प्रतिनिधि सभा विघटन सम्बन्धी बहसको क्रममा फ्रान्स सहित युरोपका विभिन्न देशमा शासकहरु मारिएको उदाहरण दिँदै त्यहाँ किन मारिए भने यहाँजस्तै भएकाले मारिएका हुन् भन्ने विचार राख्नुभएको हो ।

न्यायालयमा मांसाहारी विचार अधिवक्ताले प्रकट गर्दा इजलासमा रहनुभएका न्यायाधीशबाट भने कुनै प्रतिक्रिया व्यक्त भएन । अरु देशका संवैधानिक अभ्यासबारे बहसमा कुरा ल्याउन, उदाहरण दिन पाइन्छ, मिल्छ । तर, अरु देशका शासकको हत्या गरिएको उदाहरण दिनु नियत खराब भएरै हो भन्ने देखिँदैछ ।

उदाहरणको खास अर्थ हन्छ, उद्देश्य हुन्छ, उदाहरणले धेरै कुरा बोल्छ । अरु देशका फलाना फलाना यसरी मारिए भन्दै नेपालको विषयमा भइरहेको बहसमा कुरा उठाउनुले विपक्षी गठवन्धनको नियततिर संकेत गर्छ । केही दिन पहिले नरोत्तम वैद्यले केपी ओलीलाई कसैले मार्नुपर्ने, कसैले नमारेको अवस्थामा आफैंले मार्ने भन्नभएको थियो । अहिले आएर सर्वाेच्च अदालतको इजलासबाटै मार्ने खालको करा गरिएको छ ।

बहस होइन विरोध

सर्वाेच्च अदालतको संवैधानिक इजलासलाई संसद्को शून्य समयजस्तै बनाइन थालेकोमा विरोध हुन थालेको छ । प्रतिनिधि सभा पुनस्थापनाको मुद्दामा भइरहेको बहसमा इजलासमा विपक्षी गठवन्धनका वकिलहरुले संवैधानिक कानुनी तर्क र विचार भन्दा विपक्षीलाई गाली गलौज गर्ने गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी गठवन्धनका वकिलहरुले निकृष्ट शैलीमा गालीगलौज गर्ने गरेका छन् । गाली गलौजले तब सीमा नाघ्यो जब विपक्षी गठवन्धनका वकिल रमण श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्रीलाई मार्नुपर्छ शैलीको अभिव्यक्ति दिनुभयो ।

विपक्षी वकिलहरुले मिडियामा प्रचारवाजी गर्ने शैलीमा राजनीतिक विचार राख्ने गरेका छन् । वकिलहरुको उद्देश्य संवैधानिक कानुनी तर्क राखेर आफ्नो पक्षलाई जिताउने भन्दा राजनीतिक प्रचार गर्नेमा केन्द्रीत रहेको देखिन्छ । ‘सर्वाेच्च अदालतमा वकिलहरुले धर्म छाडेको देखिन्छ, उनीहरु विपक्षीलाई गाली गलौज गरिरहेका छन् । खासगरी विपक्षी गठवन्धनका वकिलहरुले इजलासलाई गालीगलौजको केन्द्र बनाइरहेका छन्’– अधिवक्ता विष्णु थापाको विचार छ । उहाँका अनुसार वकिलहरुले मर्यादा विपरित गएर गालीगलौज गर्ने, संवैधानिक र कानुनी तर्कभन्दा राजनीतिक तर्क दिने काम गर्दा इजलासले हस्तक्षेप गर्नुपर्ने हो ।

वकिलहरुले इजलासमा गालीगलौज गर्ने, विपक्षी गठवन्धनका मिडियाले ती गालीलाई प्रचार गर्ने काम गरिरहेका छन् । तर, राष्ट्रपति र प्रधानमन्त्रीलाई मार्ने खालको मांसाहारी विचारलाई भने उनीहरुले खासै प्रचारमा ल्याएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !