१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधारमा निर्माणमा असर गर्‍यो – मन्त्री नेम्वाङ

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार १४:१५


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताउनुभएको छ ।

आज शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा  पदभार ग्रहण गर्दै उहाँले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताउनुभयो । विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय ठाउँ सडक संजालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘कोभिडका कारण काममा बाधा पुग्दा राष्ट्रिय र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न गाह्रो हुन्छ ।’

भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताउनुभयो । गत ८ गते सर्बाेच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । गत पुस ५ मा विघटन भएको संसद् सर्बाेच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद्बाट सरकार बन्न नसकेपछि संसद् बिघठन भएर नयाँ निर्वाचनको घोषणा भएको हो ।’

कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पुर्‍याएको मन्त्री नेम्वाङले बताउनुभयो । सरकारले अहिले सडक, रेल, सिंचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको मन्त्री नेम्वाङले बताउनुभयो । असल मनशायले काम गर्दा गल्ती नै भए पनि त्यो क्षमायोग्य हुने तर गलत नियतले गरेका काम दण्डनीय हुने उहाँको भनाइ छ । कर्मचारीले काम गर्दा कुनै गल्ती भए पछि हट्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मेरो बढुवामा पो असर गर्छ कि भन्ने सोचेर काम गर्न पछि हट्नुहुँदैन ।’
‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक

मन्त्री नेम्वाङले काठमाडौं उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले काठमाडौं उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताउनुभयो ।

उहाँका अनुसार निजी बैंकले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेका छन् । मन्त्रालयले फुसको छाना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ । मन्त्रालयले हिमाली र पाहाडी जिल्लालाई विभिन्न स्थान शहरीकरण गर्ने पनि कार्यक्षेत्रमा पार्नुपर्नेमा उहाँको जोड छ ।

मेलम्चीको स्थलगत अध्ययन गरिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाइएको छ । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताउनुभयो ।

मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उहाँको जोड छ । अहिलेसम्म सडक, पुललगायत पूर्वाधार बने पनि लामो समयसम्म मन्त्रालय स्रोतलगायत कुरामा अल्झेको मन्त्री नेम्वाङले बताउनुभयो । ‘लिफ्ट’मार्फत गरिने डिप बोरिङमा आयोजना कसरी संजालन भइरहेको छ भन्ने ‘फलोअप’ हुनुपर्नेमा उहाँको जोड छ ।

अर्थतन्त्रमा कृषिको महत्वपूर्ण योगदान

मन्त्री नेम्वाङले अर्थतन्त्रमा महत्वपूर्ण योगदान कृषि क्षेत्रको रहेकाले सरकारले कृषिलाई उच्च प्राथमकिता दिएको बताउनुएको छ । कृषि मन्त्रालयमा पदभार पछि आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय आकाङ्क्षा र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेकामा जोड दिनुभयो । यो क्षेत्रमा धेरैले रोजगारी पाइरहेकाले बेरोजगारी कम गर्न कृषि क्षेत्रको योगदान रहेको उहाँले औँल्याउनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, खानेपानी मन्त्रालयका निमित्त सचिव सुनिल दास र कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले मन्त्रालयको सङ्गठनात्मक संरचना, समस्या, सम्भावना, बजेट कार्यान्वयनको अवस्थालगायतका विषयमा जानकारी गराउनुभएको थियो । मन्त्री नेम्वाङले विसं ०७६ मंसिरदेखि भौतिक पूर्वाधार मन्त्राललयको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

मन्त्री नेम्वाङले आज नै मन्त्रालयका विभिन्न फाइलमा सदर समेत गर्नुभएको छ ।

शहरी विकास मन्त्रालयको कार्यक्षेत्र अध्ययन गर्नेसम्बन्धी फाइल, कृषि मन्त्रालय पेय पदार्थ गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित गर्नेसम्बन्धी फाइल, खानेपानी मन्त्रालयमा कोभिड–१९ काजसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !