४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीकाे प्रश्न – भोलि कुखुरो हराउँदैछ भनेर अघिल्लो दिन नै स्याल कसरी करायाे ?

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार १२:२०


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतबाट राजनीतिकाे फैसला खाेज्न थालिएकाे बताउनु भएकाे छ ।

देशकाे राजनीतिलाई सदन र जनताबाहिर लैजान खाेजिएकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘जनतामा पनि राजनीति जान नदिने, संसद्‍मा पनि राजनीतिकाे टुंगाे नगर्ने राजनीति अन्तै लगेर टुंगाे गर्ने, प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खाेजियाे ।’

राजनीतिक विषयकाे टुंगाे राजनीतिक संस्था वा राजनीतिक पार्टीले लगाउनुपर्ने बेला अदालतबाट राजनीतिकाे फैसला खाेजिएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे । ‘अदालतले संविधान र कानुनकाे कुरा गर्ने हाे राजनीति हाेइन’- प्रधानमन्त्रीकाे भनाइ छ । राजनीतिबारे भ्रम फैलाउन खोजिएको भन्दै  उहाँले संसद्मा खुर्सानीको धुलो बोकेर जाने र माइकले लडाईं गर्नेहरूलाई शान्तिकै अस्त्रबाट परास्त गरिने बताउनुभयाे ।

महन्थ ठाकुरसँग जाेडेर विपक्षी गठबन्धनले अनेक टिप्पणी गरेकाे भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभयाे । उहाँले भन्नुभयाे – ‘महन्थ ठाकुरलाई प्रधानमन्त्री बनिदिनुस् भन्दा सही हुन्छ, उहाँहरु (विपक्षी गठबन्धन) ले लखेटेका बेला मैले महन्थजीहरुलाई साथ लिएँ भने गलत हुन्छ ? म तपाईंकाे पाेलिसीका पछाडि जान्छु भनेकाे छैन, उहाँहरु (महन्थजी) सँग कुनै एग्रीमेन्ट गरेकाे छैन ।’

प्रजातन्त्र र संविधानविरुद्ध अराजकता ल्याउन खाेजिएकाे बताउँदै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयाे – ‘महन्थीलाई प्रधानमन्त्री हुनुस् भनेर डबलीमा बुद्धिजिवी साक्षी राखेर भनेकाे हाेइन ? टेलिभिजनमा साक्षी राखेकाे हाेइन ?’

मन्त्री सबै हटाएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठेराे भयाे खुच्चिङ पर्‍याे भन्ने हिसाबले प्रतिक्रिया आएकाे पनि उहाँले बताउनुभयाे । कसैले अघिल्लाे दिन नै पछि थपिएका मन्त्री हट्ने घाेषणा गरिसकेकाे बताएका सुनाउँदै प्रधानमन्त्री ओलीले प्रचण्डको नाम नलिइ  भन्नुभयाे – ‘कसैले एक दिन अगाडि नै धादिङ पुगेर थपिएका मन्त्रीहरु भाेलि बर्खास्त हुने सूचना आफूले पाएको भन्यो, न्याय निष्पक्ष रूपमा निरुपण हुँदैछ कि सेटिङमा ? नत्र भोलिपल्ट कुखुरो हराउँदैछ भनेर अघिल्लो दिन नै धादिङमा स्याल करायाे ?’

प्रणालीलाई कार्यान्वयनको चरणमा जानै नदिइ भत्काउन खोज्नु खतरनाक विषय भएकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

 



प्रतिक्रिया दिनुहोस !