१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार ०८:५८


ब्रसेल्स । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताउनु भएको छ ।

आयोगले कोभिड–१९ पश्चात् इटाली, जर्मनी र लाटभियाको आर्थिक पुनरुद्धार योजनालाई स्वीकृत गरेको हो । आयोगकी अध्यक्ष लायनले तीनै मुलुकको भ्रमण पनि गर्नु भएको छ ।

इटालीमा श्री लायनले इटालीका प्रधानमन्त्री मारियो ड्रागीसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री ड्रागीसँगको भेटपछि ट्वीट गर्दै लायनले इटालीका लागि ९० करोड अमेरिकी डलरको आर्थिक पुनरुद्धार योजना स्वीकृत गरेको बताउनु भएको छ ।

युरोपेली आयोगबाट सर्वाधिक ठूलो आर्थिक सहायता प्राप्त गर्नेमा इटाली रहेको छ । आयोगका अनुसार इटालीले अनुदान बापत ६८.९ अर्ब युरो र ऋण बापत १२२.६ अर्ब युरो प्राप्त गर्नेछ ।

यसैगरी जर्मनीले स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनको डिजिटलाइजेसनका लागि सहायता प्राप्त गर्नेछ । जर्मनीका चान्सलर एन्जेला मर्केलले जर्मनीले हाइड्रोजन, माइक्रोइलेक्ट्रोनिक्स, क्लाउड र डेटा प्रसेसिङका क्षेत्रमा लगानी बढाउने बताउनु भएको छ ।

आयोगकी अध्यक्ष लायनले लाट्भियाको आर्थिक पुनरुद्धार योजनाका बारेमा पनि घोषणा गर्नु भयो ।

गत वर्ष, युरोपेली युनियनका नेताहरुले कोरोनाभाइरस महामारीको आर्थिक तथा सामाजिक असरलाई सम्बोधन गर्न व्यापक आर्थिक पुनरुद्धार कोष स्थापना गर्न सहमति जनाएका थिए ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !