१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमक औद्योगिक पार्क सहित अरुण र तमोर जलविद्युत पनि अगाडि बढ्यो

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार १३:४३


काठमाडौं । झापाको दमकमा नेपालका सबैभन्दा ठूलो र दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक औद्योगिक पार्क बन्दैछ । सो पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघमा उद्घाटन गरिसक्नुभएको छ ।

सो पार्क निर्माणको प्रक्रिया अब सम्पूर्ण रुपमा अगाडि बढेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले चीन नेपाल मैत्री औद्योगिक पार्कमा हुने विदेशी लगानी स्वीकृत गर्दै परियोजनाको डिपिआर समेत पारित गरेको छ ।

लगानी बोर्डका अनुसार अब सो पार्क तत्काल निर्माण प्रक्रियामा जानेछ । अब सो औद्योगिक पार्कको परियोजना विकास सम्झौता हुन बाँकी छ । सो सम्झौता तत्काल गर्न लगानी बोर्डको बैठकले बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

बोर्डको ४७ औं बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । दमक औद्योगिक पार्कमा अत्याधुनिक हाइटेक उद्योगहरु बस्दैछ । परियोजनाले २२ सय बिगाहा भन्दा धेरै क्षेत्रफल ओगट्ने बताइएको छ । झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा सो औद्योगिक पार्क फैलिएको छ ।

लगानी बोर्डले बैठकपछि जारी गरेको विज्ञप्ति अनुसार संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत विकास परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन सर्वेक्षण अनुमति पत्र स्वीकृत गरिएको छ । भारतीय लगानीमा बनाउन लागिएको सो परियोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हुनेछ । एसजेभिएन लिमिटेड इण्डियासँग गरिने समझदारी पत्र (एमओयु)लाई लगानी बोर्डको बैठकले स्वीकृत गरेको हो ।

त्यसैगरी ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनालाई पनि सर्वेक्षण अनुमति पत्र दिने सम्बन्धमा प्रक्रिया अगाडि बढाउन बोर्डले निर्देशन दिएको छ ।

बोर्डको बैठकले पश्चिम सेती जलविद्युत परियोजना र एसआर– ६ संयुक्त जलविद्युत परियोजना सम्बन्धमा अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति बनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !