१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार ०५:४४


.

काठमाडाैं । केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएकाे छ ।

आर्थिक क्षेत्र चलायमान बनाउनेगरी असार ८ देखि निषेधाज्ञा खुकुलो बनाउन लागिएकाे हाे । करिब दुई महिना लामो निषेधाज्ञाले मजदूर वर्गसँगै अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले माेडालिटी परिवर्तन गरेर निषेधाज्ञा थप्ने सरकारकाे तयारी छ ।

निषेधाज्ञाबारे छलफल गर्न आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठक बस्दैछ । बैठक साँझ ५ बजे बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सनराइज खबरलाई जानकारी दिनुभयाे । जनजीवनलाई सहज बनाउँदै अबकाे निषेधाज्ञालाई वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको बनाइने प्रजिअ भट्टराईले बताउनुभयाे ।

सरकारले भनेकाे ‘स्मार्ट लकडाउन’ यस्तै हुन सक्ने उहाँकाे भनाइ छ । यद्यपि स्मार्ट लकडाउनबारे आफूलाई थाहा नभएको प्रजिअ भट्टराईले बताउनुभयो । ‘सरकारले भनेजस्ताे ‘स्मार्ट लकडाउन’बारे हामीलाई केही जानकारी आएकाे छैन, अब थपिने निषेधाज्ञा अहिलेकाे भन्दा केही खुकुलाे र व्यवस्थित हुन्छ’- उहाँले भन्नुभयाे ।

कोभिड-१९ निर्देशक समितिले असार ८ देखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । स्मार्ट लकडाउनकाे मोडालिटी बनाउने जिम्मा कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई दिइएकाे छ । तर सीसीएमसीले अझै निर्णय गरेकाे छैन ।

काठमाडाैं उपत्यकामा पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा भाेलि सकिँदै छ । काेभिड संक्रमण बढेपछि उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू छ । काेभिड संक्रमणदर केही कम भएपनि जाेखिम कायमै रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आइरहेकाे छ । नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरे निषेधाज्ञा आफै व्यवस्थित हुने विज्ञहरुकाे भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !