१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप

प्रकाशित मिति :  ५ असार २०७८, शनिबार ०९:५२


बैतडी ।  कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् ।

गत जेठ २८ गतेदेखि सुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई हजार नाै सय १४ ज्येष्ठ नागरिकले सो खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तोकिएको भएपनि अन्य उमेर समूहकाले पनि खोप लगाएका छन् । जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा उक्त खोप लगाउने अभियान सञ्चालन गरिएको थियो ।

सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५६५ जनाले खोप लगाएका छन् ।यस्तै पाटन नगरपालिकामा ४१३, पुर्चौंडी नगरपालिकामा ३२५, मेलौली नगरपालिकामा २४२ र डिलाशैनी गाउँपालिकामा २५८, सिगास गाउँपालिकामा २८७, दोगडाकेदार गाउँपालिकामा २७०, शिवनाथ गाउँपालिकामा २२९, सुर्नया गाउँपालिकामा २२१ र पञ्चेश्वर गाउँपालिकामा १०८ जनाले खोप लगाएका छन् ।

खोप अभियानका लागि सङ्घीय सरकारले जिल्लामा ३ हजार ७८० मात्रा खोप पठाएको थियो । जिल्लामा ८४ वटा खोप केन्द्रमार्फत पहिलो डोज दिइएको छ ।

खोपको दोश्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोश्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । उहाँले भन्नुभयो, ‘पहिलो मात्रा लगाएकालाई अनिवार्य रुपमा दोश्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिएका हौं ।’

जिल्लामा ३ हजार ४५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेकोमा ८४ प्रतिशत अर्थात २ हजार ९१४ जनालाई मात्रै खोप दिइएको हो । लगातारको वर्षा, भगौलिक विकटता र चेतनाको अभावले गर्दा लक्ष्यभन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !