४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्री पाेखरेलले पाउनुभयाे विश्वासकाे मत

प्रकाशित मिति :  ४ असार २०७८, शुक्रबार ११:१०


काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासकाे मत पाउनु भएकाे छ ।

शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउनुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले राख्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावकाे पक्षमा ३१ र विपक्षमा २७ मत परेकाे सभामुख नेत्रनाथ अधिकारीले घाेषणा गर्नुभयाे । कुल ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि हाल सांसद् संख्या ५९ कायम छ । मतदानमा ५८ जना सहभागी भएका थिए ।

नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पोखरेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् दीपक मनाङेले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री बन्न समर्थन गरेका ३१ सांसद्ले नै पाेखरेललाई विश्वासकाे मत दिए ।

गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले पाेखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासकाे मत पाउन नसकेपछि पाेखरेल मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । तर पोखरेलले भने मुख्यमन्त्री नियुक्त भएको एक सातामै विश्वासको मत लिन लिनुभयाे ।

प्रदेश सभाकाे बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएकाे सभामुखले घाेषणा गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !