२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

असार ७ देखि ‘स्मार्ट लकडाउन’ गरिने

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ०४:१५


काठमाडौं । सरकारले अब ‘स्मार्ट लकडाउन’ गर्ने भएकाे छ ।

कोभिड-१९ व्यवस्थापन निर्देशक समितिले असार ७ देखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेकाे समितिकाे बैठकले कोभिड संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

अहिले जारी निषेधाज्ञा कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइ साथ पालना गराई केही क्षेत्र खुला गर्नुपर्ने समितिकाे निष्कर्ष छ । बैठकमा प्रधानमन्त्री एवं समिति अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताउनु भएकाे थियाे । यसका लागि आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री ओलीले सराेकारवालालाई निर्देशन पनि दिनुभयाे ।

बैठकमा प्रधानमन्त्री ओलीले काेभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य विषय खाेप नै भएकाे बताउनुभएकाे थियाे । सबै नेपालीलाई चाँडाे भन्दा चाँडाे खाेप लगाउनका लागि सरकारले सक्दाे पहल गरिरहेकाे उहाँले सुनाउनुभयाे । सरकारले ४० लाख डाेज खाेप ल्याउन गृहकार्य गरिरहेकाे प्रधानमन्त्री ओलीले जानकारी दिनुभयाे । चीन लगायत देशबाट खाेप ल्याउन गृहकार्य भइरहेकाे प्रधानमन्त्रीकाे भनाइ थियाे । साे खाेप आउनासाथ आगामी साउनदेखि खाेप लगाउने थालिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

बैठकले श्रमिककाे संख्या धेरै रहेका देशमा पुन: हवाई उडान सञ्चालन गर्ने निर्णय पनि गरेकाे छ । ‘नेपाली श्रमिक धेरै संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय भएकाे’- समितिकाे एक सदस्यकाे भनाइ छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन नबढ्ने गरी हवाई उडान सञ्चालन गर्नेगरी साे निर्णय भएकाे हाे ।

वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्‍वारेन्टिन बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । जसअनुसार कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कामका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालना साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिण्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !