२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाढीले निर्माणधीन पुल बगायो

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ०३:५८


नवलपुर । सोमबार साँझदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो ।

बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिनुभयो । प्रदेश सरकारको तीन करोड ५० लाख रुपैयाँको  लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार सो पुलको आज बिहीबार ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताउनुभयो ।

यसैबीच अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली–४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताउनुभयो । बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ ।

पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको सुवेदीले बताउनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !