२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पारित भयाे मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ०९:४१


काठमाडाैं । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित भएकाे छ ।

गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको ११ औं बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हाे । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समिति प्रमुख अनिल पोखरेलले साे जानकारी दिनुभएकाे हाे । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा छलफल गरेर पारित गर्ने काम भयाे, विपद् जाेखिम व्यवस्थापन प्राधिकरणसँग सम्बन्धित विपद् व्यवस्थापन राम्राेसँग गर्ने चार वटा कार्यविधि पारित गर्‍याैं, नुवाकाेटकाे दुप्तेश्वरमा रहेकाे ढुंगाे फुटाउनका लागि आवश्यक बजेट निकासा लगायत विषयमा छलफल भयाे’- उहाँले भन्नुभयाे ।

 

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेकाे बैठकले विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, गैरसरकारी संस्था परिचालन सम्वन्धी कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धी कार्यविधि पनि बैठकले पारित गरेकाे उहाँले बताउनुभयाे ।

मंगलबारदेखि भूभागमा भएका बाढी र पहिराेका घटनाकाे क्षति के कति भए,अहिले के कसरी काम भइरहेकाे छ र राहत तथा उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकाे पनि समिति प्रमुख पाेखरेलले बताउनुभयाे ।

बैठकमा गृहमन्त्री अधिकारीले बाढीपहिरोको जोखिम बढेकोले तत्काल राहत तथा उद्धारमा खटिन माहतहतका निकायलाई निर्देशन दिनुभएको थियाे । सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल उद्धार,राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई समितिले निर्देशन दिएकाे छ ।

लगातारकाे वर्षापछि आएकाे बाढी पहिराेले सिन्धुपाल्चाेक,मनाङ,चितवन,गुल्मी, पाल्पा, पर्वत लगायत क्षेत्रमा ठूलाे क्षति पुर्‍याएकाे छ ।



प्रतिक्रिया दिनुहोस !