२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गैँडाकोटका १६५ घर डुबानमा

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ०६:०५


काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा नारायणी नदीमा आएको बाढीका कारण १ सय ६५ घर डुबानमा परेका छन् ।

गैँडाकोट–२ नारायणी नदी किनारको बस्ती डुबानमा परेको वडाध्यक्ष धु्रबराम पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार चितवनको भरतपुर महानगरपालिकासँग सिमाना जोडिएको नारायणी किनारको बस्ती बाढीले डुबेको छ । ‘अहिलेसम्मकै सबैभन्दा माथि पानीको सतह आएको छ’, उहाँले भन्नुभयो ।

हिजो साँझ पाँचबजेदेखि नदीको पानी बस्तीमा पसेको थियो । पानीको सतह बढेपछि सो बस्तीका मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । उहाँहरुलाई अक्फोर्ड कलेज र महेन्द्र स्मारक आधारभुत विद्यालयमा राखिएको पौडेलले जानकारी दिनुभयो ।

बाढीको कारण मानवीय क्षति नभए पनि अन्न, लत्ताकपडा लगायतका सामान पानीमा डुबेको पौडेलले जानकारी दिनुभयो । डुवानका कारण केही घर भत्किएको उहाँले बताउनुभयो ।

पानीको सतह घट्ला भनेर प्रतिक्षा गर्दा गर्दै सतह बढेकोले कतिपयले लगाउने लुगा पनि झिक्न नभ्याएको उहाँले बताउनुभयो । ‘पानी घट्ला भन्दाभन्दै झन् पानीको सतह बढेकोले उनीहरुले सामान झिक्न समेत भ्याएनन्’, पौडेलले भन्नुभयो ।

बुधबार बिहानीपख पानीको सतह केही घटेपनि फेरि बढ्न लागेको उहाँले बताउनुभयो । अहिले पनि सो बस्तीमा जानसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !