४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेका सांसद्लाई राखेर  सरकार चलाउन पाइदैन- यामलाल कँडेल

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार १४:१९


काठमाडाैं । नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले एमालेका सांसद्लाई राखेर  सरकार चलाउन नपाइने बताउनुभएकाे छ ।

साेमबार बसेकाे प्रदेश सभा बैठकमा  कर्णालीका सभामुख राजबहादुर शाहीले सर्वोच्चको आदेशले पुनर्वहाली भएका चार सांसद् एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र पढेर सुनाउनु भएकाे थियाे । सभामुख शाहीले एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गर्नुभयाे ।

त्यसपछि कँडेलले अदालतले पुर्नबहाली गरिसकेकाले एमालेका सांसद्हरू प्रतिपक्षमै बस्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘सभामुखकाे घाेषणासँगै प्रदेश सभाकाे अवस्था फेरिएकाे छ, यो दलीय व्यवस्था हो, यहाँ एउटा दलको सदस्य हुने व्यक्तिले अर्को दलको सेवा गर्न मिल्दैन ।’  अवस्था हेर्दा सदनकाे काम कारबाही राेक्नुपर्ने देखिएपनि आफूहरुले केही समय धैर्य गर्ने उहाँले बताउनुभयाे ।

संसदीय अभ्यास अनुसार सदनकाे कारबाही अघि बढाउने हो भने एमालेका सदस्यलाई कोही कसैले राख्ने अधिकार नरहेको कँडेलले स्पष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे – ‘थीति बिगार्ने गरी कर्णाली प्रदेशमा छलफल भएको छ,सबैले बुझेका छन्, जो सडकमा भेटिन्छन् त्यसैलाई झण्डा हल्लाउँदै सरकार बनाउने हो भने भन्दा हुन्छ, यही बाटाेमा हिँड्ने हाे भने हाम्रो भन्ने केही छैन,एमालेका सांसदलाई राखेर सरकार चलाउने मान्य हुने छैन ।’

थाेरै हुँनासाथ संख्या बढाउने कुराले लाेकतन्त्रकाे मर्यादा नरहने उहाँले बताउनुभयाे । नीति तथा कार्यक्रम चल्दासम्म धैर्य गरेपनि त्यसपछि सहयाेग गर्न नसकिने कँडेलले स्पष्ट पार्नुभयाे । दलिय आचरणमा हिँड्न उहाँले आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘हामी केही समय पर्खिन्छौं, सदन अवरुद्ध गर्ने हाम्रो चाहना छैन, तर यसबीचमा पहल कदमी गरिएन, समस्या समाधान भएन भने एमाले संसदीयले जे गर्नुपर्ने हाे गर्छ ।’

चार सांसद्काे एमालेमै रहेसँगै अब प्रदेश सभाका ४० जना सांसद्‍मध्ये एमालेसँग सभामुखसहित २० जना भएका छन् । माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद् छन् ।



प्रतिक्रिया दिनुहोस !