४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वाग्मती एमाले: केन्द्र र अन्य प्रदेशलाई पाठ सिकाउँदै

प्रकाशित मिति :  ३० जेष्ठ २०७८, आईतवार ०५:१२


काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवादको कारण केन्द्रदेखि विभिन्न प्रदेशमा एमाले नेतृत्वको सरकार ढलिरहेको बेला वाग्मती प्रदेशको एमालेले भने संकटको बेला पार्टी एक ढिक्का हुनुपर्ने पाठ सिकाएको छ ।

केन्द्रमा एमालेका सांसद्ले बैठक बहिष्कार गर्दा केन्द्र सरकारले विश्वासको मत पाउन नसक्दा देश मध्यावधि चुनावमा गएको छ । कतिपय प्रदेशमा एमालेका सांसद् फ्लोर क्रस गर्ने त कतिपय प्रदेशमा राजीनामा दिने तहसम्म पुगे । तर वाग्मती प्रदेश सभाका एमाले सांसद्ले भने आफ्नो पार्टीको सरकारलाई सफल बनाउन निर्णायक भूमिका खेलेका छन् ।

पार्टी भित्र विभिन्न गुट र विवाद भए पनि पार्टी र सरकारको रक्षाको लागि वाग्मती एमाले एक ठाउँमा उभिएको छ । पार्टी भित्र आन्तरिक मतमतान्तर हुँदा हुँदै पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम पास गर्न एकठाउँमा उभिएर वाग्मती प्रदेश सभाका एमाले सांसद्ले पार्टी एकता र राजनीतिक चरित्र देखाएका छन् ।

वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल गराउन एमालेका माधव गुटका सांसद् विपक्षमा उभिने छन् र प्रदेश सरकारलाई असफल गराउने छन् भन्ने धेरैले आँकलन गरेका थिए । तर त्यसो भएन । पार्टी भित्रको सबै मतान्तरलाई बिर्सिएर एमाले सांसद्हरु एक ठाउँमा उभिए र सरकारको नीति तथा कार्यक्रम बहुमतले पास गरे ।

सरकारको नीति तथा कार्यक्रम पास गर्नु अघि मुख्यमन्त्री डोरमणि पौडेल तथा एमाले नेतृ एवं प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले एमालेका सबै सांसद्लाई सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन दिनुभएको थियो ।

पार्टी एकताकै लागि वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई मतदान नगरेको भन्दै स्पष्टिकरण सोधिएका १४ जना सांसद् माथिको स्पष्टिकरण पनि पार्टीले फिर्ता लिएको छ । पार्टीलाई एक बनाएर लैजान आफूहरु प्रयत्नरत रहेको र सोही अनुसार सरकारको नीति तथा कार्यक्रम पास गर्ने बेला एमालेका सबै सांसद् एक ठाउँमा उभिएको वाग्मती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले बताउनुभयो ।

अब समस्या समाधान भएको हो त ? भन्ने प्रश्नमा पौडेलले आफूहरु प्रयत्नशील रहेको बताउनुभयो । तलका कुरा माथिबाट सुवाई भयो भने पार्टी एक भएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘तल समस्या नै छैन, समस्या माथि नै हो’, उहाँले भन्नुभयो ।

 



प्रतिक्रिया दिनुहोस !