४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ज्यूँदो मानिस मरेको चर्चा सभ्य समाजमा गरिँदैन-गोविन्द थापा

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार १२:४९


गोविन्द थापा-

केपी शर्मा ओलीलाई साँच्चै नै मार्न सफल भए भने देशको कस्तो बेहाल होला ? कल्पना गर्दा पनि मुट काम्छ । ज्यूँदो मानिस मरेको चर्चा सभ्य समाजमा गरिँदैन । तर, देशको दुर्भाग्य, जिम्मेवार नेताहरु नै मान्छे मार्ने कुरा गर्छन् । प्रधानमन्त्रीलाई कसैले मार्नुपर्‍याे, कसैले मार्दैन भने म मार्छु भन्ने नेता देखा परेका छन् ।

नरोत्तम वैद्यले केपी ओलीलाई मार्ने घोषणा गर्नुभयो । ओलीलाई मार्न अपिल समेत गर्नुभयो । उहाँले आफ्नो बोलि फिर्ता लिइसक्नुभएको छ । भनिन्छ– बोलि र गोली उस्तै हुन्छ, फिर्ता हुँदैन । कतिपय बोलि यस्तो हुन्छ फिर्ता लिनुको अर्थ हुँदैन । कतिपय बोलि यस्तो हुन्छ जो फिर्ता लिए पनि मनभित्रको नियत प्रकट भएको हुन्छ ।

नरोत्तमले बोलि फिर्ता लिए पनि केपी ओलीलाई मार्नुपर्छ या मरिदिए हुन्थ्यो भन्ने विचार नयाँ होइन । नरोत्तमले बोलि फिर्ता लिनुभयो तर मनभित्रको विचार भने प्रकट भयो । नरोत्तमले बागमती प्रदेश सभामा गर्नुभएको भाषणको सार हो– केपी ओलीलाई जित्न सकिएन, त्यसैले मार्नुपर्छ ।

जित्न नसके मारिदिने विचार कांग्रेसलाई कहाँबाट आयो ? यो विचार कांग्रेसको आफ्नै होइन । माओवादीको हो । संगत गुनाको फल हो । खराब साथीसँग संगत गर्दा आफूमा पनि खराबी सर्छ भनेर होसियार हुनुपर्छ । कांग्रेसको संगत मात्र खराब भएन, साथीको स्वभाव समेत ग्रहण गरिरहेको छ भन्ने बुझियो ।

जनता चाहिँ आफ्नो आयु अलिकति कटाएर केपी ओलीलाई दिन पाए हुन्थ्यो भन्छन् । त्यस विपरित केपी ओली मरेको देख्न चाहने केही नेता छन् नेपालमा भन्ने विगतमा पनि बुझिएकै हो । पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमालेसँग एकीकरण गर्नुको मुख्य कारण केपी ओली धेरै बाँच्नुहुन्न भन्ने नै थियो । मृगौला प्रत्यरोपण गर्नुभएका ओली धेरै बाँच्नुहुन्न, ओलीको अवसानपछि एमाले क्याप्चर गर्छु भन्ने कुत्सित मनसायले नै प्रचण्डले एकीकरण गर्नुभएको थियो भन्ने पछिपछि पुष्टि हुँदै गएको हो ।

प्रधानमन्त्री बनेपछि केपी ओलीको स्वास्थ्य निरन्तर बिग्रिरह्यो । पछि उहाँले मृगौला प्रत्यरोपण समेत गर्नुपर्ने भयो । अब ओली बाँच्नुहुन्न, ओलीको व्यक्तिगत विरासत समेत कब्जा गर्छु भन्ने मनसायले प्रचण्डले एउटा अनौठो निर्णय गर्नुभयो । उहाँले पाँच वर्षकै लागि केपी ओली प्रधानमन्त्री भन्ने निर्णय दिनुभयो । सत्ता र शक्तिका लागि हजारौं मानिस मार्नुभएका प्रचण्डले सजिलै कसरी त्यस्तो निर्णय गर्नुभयो ? धेरैजना आश्चर्यमा परे । तर, त्यसको रहस्य थियो केपी ओलीको स्वास्थ्य । धेरै दिन ओली बाँच्नुहुन्न, त्यसपछि पार्टी पनि मेरो, सरकार पनि मेरो भन्ने नियतसाथ उहाँले पाँच वर्ष नै ओली प्रधानमन्त्री भन्ने निर्णय दिनुभएको थियो ।

जतिबेला ओली अस्पताल भर्ना हुनुपथर््यो, त्यसबेला तत्कालीन नेकपाको विवाद मत्थर हुन्थ्यो । ओलीको मृत्युको कामना गर्नेहरु स्वास्थ्य अवस्था बुझ्थे, अब अवशान हुन्छ भन्दै मनको लड्नु घिउसँग खान्थे र पार्टीभित्रको झगडा मत्थर बनाउथे ।

अघिल्लो वर्ष ओलीको मृगौला प्रत्यरोपण भयो । अस्पतालबाट बालुवाटार फर्कनुहुन्न भन्ने आश प्रचण्ड माधव लगायतलाई थियो । तर, उहाँहरुको दुर्भाग्य र देशको सौभाग्य भयो । ओली बाँच्नुभयो । प्रत्यरोपण सफल भयो । त्यसपछि ओली युवा जसरी सक्रिय हुनुभयो । ओलीले पुर्नजिवन पाउनुभएपछि प्रचण्ड माधव लगायतलाई असह्य भयो । ‘ओली मरिहाल्छन् भनेर पो प्रधानमन्त्री पदमा टिक्न दिएका हौं, बाँच्ने हो भने प्रधानमन्त्री पद हामीलाई चाहिन्छ’ भने जसरी प्रचण्ड माधवले गुटवन्दी र आक्रमण थाल्नुभयो । ओलीमाथिको आक्रमणको सिलसिला अहिले पनि जारी छ ।

अहिले आएर केपी ओलीको प्राण र मृगौला कांग्रेसका शेरबहादुर देउवाहरुलाई पनि बाधक भएको छ । केही समय पहिलेसम्म प्रचण्ड र माधवहरुले मात्र ओलीको मृत्यु कामना गरिरहेको आभाष हुन्थ्यो, अहिले आएर कांग्रेसले खुलेआम मृत्युको प्रार्थना गरेको छ । त्यति मात्र होइन, केपी ओलीलाई मार्न कांग्रेसका प्रदेश सांसद् नरोत्तम वैद्यले आव्हान समेत गर्नुभएको छ ।

विगतमा ओलीलाई मार्न माओवादीले धेरै प्रयास गरेको थियो । पहिलो संविधान सभा चुनावका बेला ओलीमाथि झापाको भद्रपुरमा प्राणघातक हमला माओवादीले गरेको थियो । माओवादीको हत्यारा दस्ताले ओलीमाथि गरेको हमला कार्यकर्ता र स्थानीय जनताको प्रतिकारले असफल भएको थियो । त्यस अघि जनयुद्ध उत्कर्षमा रहेको बेला माओवादीले केपी ओलीको दमक स्थित घर खाली गर्न उर्दी जारी गरेको थियो । घर खाली नगरे बम हान्छौं भनेर धम्की दिएको थियो । ओलीको घरमा स्थानीयवासी र कार्यकर्ताले चौबिसै घन्टा पहरा दिएका थिए । त्यसबेला माधव नेपालको नियन्त्रणको तत्कालीन एमालेले ‘माओवादीसँग नजुधौं, घर खाली गरिदिनुपर्छ’ भन्ने प्रस्ताव ल्याएको थियो । तर, जुझारु जनता र कार्यकर्ताले अस्वीकार गरेका थिए ।

संविधान सभाकै चुनावको बेला उदयपुरको गाईघाटमा चुनावी सभा सकेर राजमार्ग फर्कंदा ओलीलाई माओवादीको हत्यारा दस्ताले गोली हानेको थियो । त्यहाँ पनि कार्यकर्ता र जनताले प्रतिकार गरेर ओलीलाई बचाएका थिए ।

‘ओलीलाई मार्नपर्छ’ भन्ने आशयको विचार माओवादीले निरन्तर प्रवाह गरेको थियो । केही महिना पहिलेदेखि माधव नेपालको गुटमा लागेकाहरुले पनि ओलीलाई मार्नुपर्छ भन्ने सरहको अभिव्यक्ति दिँदै आएका छन् । नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्तिमा माधव निकटका पूर्व सांसद् मेटमणि चौधरीले खुलेआम समर्थन जनाएको अहिले देख्न सकिन्छ ।

नरोत्तमले बोलि फिर्ता लिनुभयो तर उहाँको समर्थनमा कांग्रेस, माधव र माओवादीको एउटा जत्था उत्रिएको छ । उनीहरुले नरोत्तमले ठिक बोले भन्दै ताली बजाइरहेका छन् । उनीहरुको ताली र गाली चाहिँ फिर्ता हुन्छ कि हुँदैन ? यो गम्भीर प्रश्न बनेको छ ।

माओवादीले एमालेलाई छानीछानी मारेको थियो । माओवादीले कार्यकर्ता मार्दा विरोधमा विज्ञप्ति निकाल्न एमालेका तत्कालीन अध्यक्ष माधव नेपाल र झलनाथ खनालहरु आनाकानी गर्नुहुन्थ्यो । जनयुद्धकाल अर्थात् एमाले कार्यकर्तालाई मारिएको कालखण्डमा आफूहरुको भित्री सहकार्य रहेको घोषणा प्रचण्ड, माधव र झलनाथहरुले गरिसक्नुभएको छ । अर्थात्, त्यो कालखण्डमा भएको हत्याहिँसाका मतियार प्रचण्ड मात्र नभएर माधव र झलनाथहरु पनि हो भन्ने देखिएको छ ।

फरक विचार राख्नेलाई मार्ने कुकर्म माओवादीले निरन्तर गरेकै हो । त्यस्तो कुकर्म कांग्रेसले पनि चिताउन थाल्नु दुःखद हो । माओवादी विघटनको बाटोमा छ, माधवको सानो शक्ति थपिएको भरमा माओवादीले पुर्नजन्म पाउन सक्दैन । आउँदो चुनावमा लगभग शुन्य सिटको हालतमा माओवादी पुग्दैछ । मर्न लागेको माओवादीलाई अलिअलि जगाउन सकियो भने एमालेको केही सिट घटाउन सकिन्छ कि भन्ने सपना कांग्रेसले देखेको छ । अझ त्यसमाथि केपी ओलीलाई नै मार्न सकियो भने आउँदो चुनावमा बहुमत ल्याउन सकिन्छ भन्ने कांग्रेसलाई लागेको रहेछ । त्यही भएर नरोत्तम वैद्यले ओलीलाई मार्ने घोषणा गरेको र कांग्रेसीहरुले नरोत्तमको समर्थनमा ताली पिटेको बुझ्न गाह्रो छैन ।

अहिले कांग्रेस, माओवादी र माधव नेपालहरु प्रचण्ड पथमा हिँडिरहेका छन् । उनीहरुले जनयुद्धकालीन प्रचण्डपथलाई जगाएका छन् । त्यही भएकाले मान्छे मार्ने कुरा गर्न थालेका छन्, केपी ओलीलाई मार्न आव्हान गरेका छन् । केपी ओलीलाई मारिएन भने आउँदो चुनाव हारिन्छ भन्ने कांग्रेसलाई लागेको छ भन्ने पनि बुझियो ।

कांग्रेस माओवादीहरु तथा शेरबहादुर देउवा, प्रचण्ड र माधवहरुले बुझ्नुपर्ने के छ भने उनीहरुले ओलीलाई मारे भने पनि हजारौं केपी ओली जन्मनेछन् । केपी ओली अब व्यक्ति मात्र होइन, केपी ओली भनेको यो देशको आदर्श हो । केपी ओलीलाई मार्न सफल भए भने पनि त्यो आदर्शलाई मार्न सक्दैनन् । यो देश बनाउने, विकास र समृद्धि ल्याउने ‘केपी ओली पथ’ जागिसकेको छ ।

र, अन्त्यमा

केपी ओलीलाई मार्न चाहन्छन् भन्ने प्रष्ट भयो । अब केपी ओलीको वरिपरि आम जनता र कार्यकर्ता पंक्ति पहिलेभन्दा शशक्त भएर गोलवन्द हुन आवश्यक देखियो । यो देश बलियो भएको हेर्न चाहनेहरु, देशको यसरी नै विकास भएको देख्न चाहनेहरु, शान्ति र स्थिरता चाहनेहरुले केपी ओलीलाई बचाउन र जोगाउन झ्न धेरै आवश्यक भएको छ । कांग्रेस, माओवादी र माधव गुटको तर्फबाट केपी ओलीको राजनीतिक हत्या गर्ने प्रयास भइरहेकै छ, भौतिक हत्या समेत हुनसक्ने हुनाले सबैले सगज भएर हत्यारा दस्तालाई असफल बनाउन जरुरी छ ।

नेपाली समाजमा ज्यूँदो मानिस मरेको चर्चा जानअन्जानमा हुनगयो भने सो व्यक्तिको आयु झन् लामो हुन्छ भन्ने भनाई छ । विश्वास गरौं– ओलीको आयु झन् लामो भएको छ ।



प्रतिक्रिया दिनुहोस !