१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पेन्सन लिन सकस

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ०९:२०


लमजुङ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकै चोटी ठूलो भीडभाडमा कोरोना संक्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ ।

सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई डराई पेन्सन लिन बस्नुपरिरहेको र हामीलाई जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको धारणा राख्नुभयो । पूर्व प्रहरी हवल्दार शन्तबहादुर गुरुङ भन्नुहुन्छ, ‘कोरोना संक्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर पेन्सन लिन आएको, यहाँ त ठूलो भीडभाड पो रैछ ।’ त्यस्तै, कमल लोहनी, रामबहादुर रावल लगायतले सरकारले व्यवस्थित रुपमा पेन्सन वितरणको व्यवस्था गरेको भए यस्तो समस्या भोग्नु नपर्ने धारणा राख्नुहुन्छ ।

राष्ट्रिय बाणिज्य बैंकका  शाखा प्रमुख सोमनाथ पौडेलले पहिला दुई वटा काउन्टर मात्र सञ्चालन गर्दै आएपनि अहिले ६ वटा काउन्टरबाट पेन्सन लिन आएकालाई सेवा प्रवाह गरिरहेको र यस्तो भीड आगामी आइतबारसम्म पनि हुन सक्नेछ भन्नुभयो ।

यहाँबाट पेन्सन लिने दुई हजार दुई सय जना रहेको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ । बैंकका अनुसार निषेधाज्ञाका कारण हप्तामा आइतबार र बिहिबार मात्र बैंक खुल्दा यहाँका कर्मचारीलाई एक हप्ताको काम एक दिनमै गर्नुपर्ने बाध्यता भइरहेको छ । यहाँको भीड बैंकले व्यवस्थापन गर्न नसकेपछि प्रहरी समेत परिचालन गरिएको थियो ।

प्रमुख जिल्ल्ला अधिकारी होमप्रसाद लुइँटेलले पेन्सन लिन आएको तथा अन्य सेवाग्राहीका लागि सामाजिक दूरी कायम गर्न बैंकहरुलाई निर्देशन दिएको बताउनुभयो । तर सेवाग्राहीहरुको भीडभाड अलिअलि भने स्वभाविक हुने तर्क उहाँको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !