२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रीहरु पुगे युवा संघको कार्यालय

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार ०९:५८


काठमाडौं । पर्यटन मन्त्री बन्नासाथ उमाशंकर अरगरिया पुग्नुभयो काठमाडौंको नयाँ बानेश्वर स्थित एक कार्यालयमा । कार्यालय थियो– नेकपा एमालेको प्रभावशाली भ्रातृ संगठन राष्ट्रिय युवा संघको ।

जनता समाजवादी पार्टीबाट मन्त्री बन्नुभए पनि अरगरिया युवा संघको कार्यालय पुग्नुको कारण थियो– शुभकामना थाप्न तथा सरसल्लाह लिन । शनिबार युवा संघको कार्यालय पुगेर मन्त्री अरगरियाले पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिको क्षेत्रमा केके काम गर्न सकिन्छ भनेर संघका अध्यक्ष किरण पौडेल लगायतसँग सुझाव लिनुभयो ।

‘अब जुनसुकै पार्टीका युवा संगठनहरुले सरकारको काममा सघाउनुपर्छ, म यो पार्टी उ पार्टी भन्दिन’– मन्त्री अरगरियाको भनाई थियो । युवाहरु माझ उहाँले भन्नुभयो– ‘युवाको उर्जा देश बनाउन प्रयोग हुनुपर्छ । युवाको उर्जा ध्वंशमा प्रयोग गर्ने कि निर्माणमा प्रयोग गर्ने भन्ने द्धन्द अहिले चलिरहेको छ । म भन्छु– निर्माणमा प्रयोग हुनुपर्छ । यही भन्न म युवा संघको कार्यालयमा आएको हूँ ।’

मन्त्री अरगरियालाई युवा संघका नेताहरुले खादा लगाइदिएर सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

आज युवा संघको कार्यालयमा दुई मन्त्री पुग्नुभयो । स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ र युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ अन्सारी ।

‘कोभिड नियन्त्रणका लागि जनस्तरबाट युवा संघले खेलिरहेको भूमिका म हेरिरहेको छु, राम्रो काम गरिरहनुभएको छ, यसलाई जारी राख्नुस्’– अध्यक्ष किरण पौडेल तथा नेताहरुलाई मन्त्री तामाङले भन्नुभयो । उहाँ लामो समय युवा संघको संगठनमा रहनुभएको थियो । आफ्नो अनुभव सुनाउँदै मन्त्री तामाङले भन्नुभयो– ‘युवा संघको नेतृत्वमा रहने साथीहरुले होशियार बन्नुहोला । राम्रो काम गर्दा पनि नराम्रो काम गरेको भनी कुप्रचार गर्छन्, भ्रम फैलाउँछन् । भ्रम चिर्दै काम गर्नुस् ।’

उहाँले भन्नुभयो– ‘मलाई युवा संघले रचनात्मक सुझाव दिनुपर्छ, सघाउनुपर्छ । म युवासंघबाटै हुर्किएको हो तर देशका तमाम युवाहरुको मन्त्री हूँ, अन्य राजनीतिक दलका युवा संघसंस्थाको पनि म सहयोग चाहन्छु ।’

युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ अन्सारीले युवा संघको कार्यालय पुगेर बधाई तथा शुभकामना थाप्दै भन्नुभयो– ‘युवा संघ यो देशको सबैभन्दा प्रभावशाली युवा संगठन हो । त्यही भएकाले तपाईंहरुको कार्यालयमै आएको छु ।’ मन्त्री बन्नासाथ आफ्ना बारे अनेक गलत समाचार फैलाइएको दुखेसो गर्दै मन्त्री अन्सारीले भन्नुभयो– ‘नकारात्मक पात्र र प्रवृत्तिले गलत कुरा फैलाउँछन्, सकारात्मक पात्र र प्रवृत्ति भएका मानिसहरु सही पक्षमा लाग्छन् । यो कुरा युवाहरुले बुझ्नुपर्छ ।’

युवा संघका अध्यक्ष किरण पौडेलले नवनियुक्त मन्त्रीहरुलाई बधाई र शुभकामना मात्र होइन सुझाव समेत दिन बोलाइएको बताउनुभयो । उहाँको भनाई थियो– ‘यो देशको सर्वाधिक धेरै संख्यामा युवा संगठित भएको संगठनको अध्यक्षको नाताले मैले सुझावहरु दिएको छु, उहाँहरुको सफलताका लागि हामी मद्दत गर्छाैं भनेको छु ।’

‘मन्त्रीजीहरुले आफ्नो कार्यकालमा उदाहरणीय र देशले कहिले बिर्सन नसक्ने काम गरेर देखाउँछु भन्नुभएको छ, हामीले सघाउँछौं भनेका छौं’– किरणले भन्नुभयो ।

 

केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाईंका अनुसार मन्त्रिमण्डलका सबै सदस्यलाई युवा संघले रचनात्मक सुझाव दिने तथा सहयोग गर्ने नीति लिएको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !