२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुटले टेरेन एमालेको निर्णय

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार ०७:०६


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पार्टी निर्णय विपरित माधव गुटले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ ।

माधव गुटको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रदेश सभा संसदीय दलका नेता प्रकाश शाह नै भट्ट नेतृत्वको सरकारमा मन्त्री हुनुहुन्छ । मन्त्री शाहले आज संसदीय दलको बैठक राखी भट्टलाई विश्वासको मत दिने निर्णय गराउनुभएको हो ।

आज प्रदेश सभामा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै हुनुहुन्छ ।   एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि सरकार अल्पमतमा परेको थियो । एमालेको माधव गुटले विश्वासको मत दिने निश्चित भएपछि उहाँले विश्वासको मत लिन लाग्नु भएको हो ।

यस अघि सोमबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक तथा सबै प्रदेश सभा सदस्यलाई सरकारको पक्षमा मतदान नगर्न ह्वीप जारी गरेको छ । तर त्यसको अवज्ञा गर्दै संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

कूल ५२ जना सदस्य रहेको प्रदेश सभामा विश्वासको मत जित्न २७ जना सदस्य आवश्यक पर्दछ । प्रदेश सभामा माओवादीका १३ जना संसद् छन् ।

एमालेका सभामुख सहित २५ जना सांसद् छन् । एमालेका माधव गुटका १७ जना प्रदेश सभा सदस्य माओवादीको पक्षमा उभिएपछि सरकारलाई आवश्यक पर्ने मत पुग्ने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस !