१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

घट्याे उडान भाडादर

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार ०८:५४


काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गाे उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार चार सय ६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार पाँच सय २० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा ६ हजार पाँच सय ८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर सात हजार सात सय १० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार एक सय ३० डलरले घटाएको छ ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आउनुभएको थियो ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर आठ सय ९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर सात सय १५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर एक सय ७८ ले मूल्य घटाएको हो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !