१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विकास र वातावरणबीच सन्तुलन आवश्यक छ -शंकरदास बैैरागी

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ११:१३


काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताउनुभएको छ । उहाँले हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको औँल्याउँदै तीव्र विकासको चाहनामा भने वातावरण तगारोका रुपमा देखिन नहुने धारणा व्यक्त गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा आज जुमप्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा मुख्यसचिव बैरागीले नेपालले वातावरण संरक्षणमा पुर्‍याएको योगदानका सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले कोभिड–१९ का कारण स्थगित ‘सगरमाथा संवाद’ आगामी अक्टोबरमा आयोजना गरिनेसमेत जानकारी गराउनुभयो । वातावरण संरक्षणका लागि नीति र कानूनको कमी नभए पनि विश्वस्तरमै यसमा काम गराइमा भने केही ‘ग्याप’ रहेको धारणा व्यक्त गर्दै उहाँले वातावरण संरक्षण बहुआयामिक विषय भएकाले यसको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको सामूहिक सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा वन सचिव डा प्रेमनारायण कँडेलले ‘नयाँ सोच र सिर्जना, प्राृकतिक प्रणालीको पुनःस्थापना’ भन्ने नाराअनुसार मन्त्रालयले विभिन्न अभियानअघि बढाएको अवगत गराउनुभयो । आगामी आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बिरुवा रोपण गर्ने गरी मन्त्रालयले कार्यक्रम अघि बढाएको जानकारी दिँदै उहाँले मुलुकको भूभागको करीब ४५ प्रतिशत वन क्षेत्र हुनु राम्रो पक्ष भए पनि अन्य क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

सचिव कँडेलले नेपाल जस्तो भौगोलिक विविधता र जोखिम भौगोलिक भूबनोटमा जलवायु परिवर्तन र वातावरणको प्रभाव बढी हुने उल्लेख गर्दै वातावरणका क्षेत्रमा नेपालका नीति र संरचनागत व्यवस्था राम्रो भए पनि ठूलो साझेदारीताको आवश्यकता रहेको बताउनुभयो ।

नेपालस्थित संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले वातावरण संरक्षणका लागि हरेक महासागरमा प्रदूषण नियन्त्रण, वायु गुणस्तरमा सुधार, वृक्षारोपणलगायत काम आवश्यक रहेको बताउनुभयो । उहाँले हिमालको काखमा रहेको नेपाल परिस्थिकीय प्रणालीमा धनी रहेको उल्लेख गर्दै यहाँको जैविक विविधता र प्राकृतिक प्रणाली पुनस्र्थापनाका लागि आफ्नो देशको सहयोगअन्तर्गत विभिन्न काम भइरहेको समेत अवगत गराउनुभयो ।

मन्त्रालयअन्तर्गतको वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले वातावरण समस्या सम्बोधनका कार्यक्रमसम्बन्धी र मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले मुलुकका वातावरणसम्बन्धी नीतिका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, त्रिवि वातावरण विज्ञान केन्द्रीय विभागका प्राडा रेजिना मास्के, तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे, नाष्टका परिषद् सदस्य डा दिनेशराज भुजु, विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङले वातावरणको महत्व र यसको संरक्षणका लागि गर्नुपर्ने कामबारे विभिन्न सुझाव दिनुभएको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !