१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कार्यसम्पादन मूल्यांकनमा शुक्लाफाँटा उत्कृष्ट

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०८:३५


कञ्चनपुर । कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ । कार्यसम्पादन मूल्यांकनमा बढी अंक प्राप्त गरी नगरपालिकाले ५५ लाख अनुदान प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्यांकनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले नगरपालिकाले जिल्लामै सबै स्थानीय तहभन्दा बढी अनुदान रकम प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताउनुभयो । ‘कार्यसम्पादन मूल्यांकनका लागि निर्धारित सूचकअनुसार काय गर्दा सन्तोषजनक नतिजा पाएका छौँ’ उहाँले भन्नुभयो, ‘आउँदो आवका लागि समेत नतिजामुखी परिणाम ल्याउँछौं । कर्मचारीको लगनशीलता र मिहिनेतले सबैभन्दा बढी अनुदान पाउन सफल भएका छाैं ।’

नगरपालिकाले समानीकरण अनुदानअन्र्तगत न्यूनतम, सूत्रमा आधारित, कार्यसम्पादनमा आधारित गरी जम्मा ६९ लाख ४२ रुपैयाँ रकम प्राप्त गरेको छ । कार्यसम्पादन मूल्यांकनको नतिजाअनुसार सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकाले ५५ लाख रुपैयाँ, लालझाडी गाउँपालिकाले ५४ लाख रुपैयाँ, दोधरा चाँदनी र भीमदत्त नगरपालिकाले समान ४९/४९ लाख रुपैयाँ, बेदकोट र पुर्नवास नगरपालिकाले ४८/४८ लाख रुपैयाँ, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले समान ३५ लाख रुपैयाँका दरले अनुदान रकम पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्थाबमोजिम स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय अनुदान सिफारिस गर्दा कार्यसम्पादनको स्तरलाई आधार लिइने गरिन्छ ।

कार्यसम्पादन स्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नु पर्ने न्यूनतम् प्रकृयागत कार्यसम्पादन गरे नगरेको, कानून तर्जुमा गरे नगरेको, उद्देश्यबमोजिम खर्च गरे नगरेकोलगायतका विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ ।

—रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !