५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री नहुँदैमा सबै सकिन्छ र ? काम गर्न मन्त्री नै बन्नुपर्छ र ?-पद्‍मा अर्याल

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०७:३४


.

काठमाडाैं । ‘मन्त्री नहुँदैमा सबै सकिन्छ र ? काम गर्न मन्त्री नै बन्नुपर्छ र ? बाहिर रहेर पनि सरकारलाई मज्जाले सहयाेग गर्न सकिन्छ नि हाेइन र ?’ – एमाले नेतृ पद्‍मा अर्यालले प्रतिप्रश्न गर्नुभयाे ।

सरकारबाट बाहिरिँदा कस्ताे महशुस भएकाे छ भन्ने प्रश्नमा पद्‍माले भन्नुभयाे – ‘मैले भनिहालेँ, काम गर्न सरकारमै रहनुपर्छ भन्ने छैन, काम गर्ने तरिका फरक हाेलान् तर बाहिर बसेर सरकारलाई सक्दाे सहयाेग गर्न सकिन्छ, सरकारमै रहँदा जसरी नै मैले काम गर्छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दा १३ जना बहालबाला मन्त्री हट्नुभएकाे थियाे । त्यसमा पद्‍‍‍मा पनि पर्नुभयाे ।

मन्त्रीबाट हट्दा दु:खी नभएकाे बरु खुशी भएकाे पद्‍‍‍माले बताउनुभयाे । ‘सुरुमा मन्त्री बन्दा कसरी जिम्मेवारी पूरा गर्ने भन्ने एक खालकाे डर थियाे तर कुशल नेतृत्वसँगै आफूमा द‍‍ृढ इच्छाशक्ति र हिम्मत भएपछि सकिँदाेरहेछ भन्ने पुष्टि भयाे, काम अनुसारकाे नाम पाइयाे, जनताकाे माया पाइयाे, रत अहिले छाती फुलाएर सरकारबाट बाहिरिएँ’- उहाँकाे भनाइ छ ।

आफूमा क्षमता भएपछि र आफ्नाे पार्टी नेतृत्वकाे सरकार रहेपछि पद आउने-जाने क्रम चलिरहने भन्दै अर्यालले यसलाई ठूलाे विषय बनाउन नहुने बताउनुभयाे । पद भन्दा पनि काम र जिम्मेवारी ठूलाे कुरा भएकाे बताउँदै पद्‍माले भन्नुभयाे – ‘पद अस्थायी भएपनि जिम्मेवारी पाउँदा बफादारीपूर्वक समर्पित हुनु महत्वपूर्ण कुरा हाे, साे जिम्मेवारी मैले सरकारमा रहँदा राम्राेसँग पूरा गरेँजस्ताे लाग्छ, जनताले पक्कै मूल्यांकन गर्नुभएकाे छ ।’

आफूलाई क्षमता देखाउने ठाउँ दिनुभएकाेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले धन्यवाद् दिनुभयाे । ‘मेराे क्षमता देखाउने माैका मात्र हाेइन,कामकाे सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई दिनु भएको प्रेरणा र हौसलाको म मुक्त कण्ठले प्रशंसा गर्छु, हृदयदेखि नै धन्यवाद दिन्छु’- पद्‍‍‍माकाे भनाइ छ ।

परिस्थितिजन्य कारणका कारण आफूले पद छाेड्नुपरेकाे उहाँले प्रष्ट पार्नुभयाे । ‘कतिपयकाे बुझाइ हाेला काम गर्न नसकेर मन्त्रीहरु हटे, अहिले कुनै पनि मन्त्रीलाई अयोग्य भनेर हटाइएको होइन, सबैले एक पटक माैका पाउनुपर्छ भन्ने सरकारकाे काममा हाम्राे सहयाेग रहेकाे हाे’- पद्‍माले भन्नुभयाे । अरुलाई पनि माैका दिनुपर्छ भन्ने साेचेकै बेला पदमुक्त भएकाे पनि उहाँले सुनाउनुभयाे । ‘मैले लगातार ३ वर्ष सरकारमा रहेर देश र जनताकाे सेवा गरेँ, अरुले पनि माैका पाउनुपर्छ भन्ने मेराे साेच थियाे, नभन्दै त्यस्तै भयाे’- पद्‍‍‍माकाे भनाइ छ ।

ओली नेतृत्वकाे सरकारमा पद्‍माले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा २ वर्ष, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रुपमा ४ महिना र हाल कृषि तथा पशुपन्छी मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे । भूमिमा रहँदा ए‍‍ेतिहासिक काम गर्नुभएकी पद्‍माले कृषिमा पनि राम्राे काम गर्नुभएकाे थियाे ।

३ वर्षमा ३ वटा मन्त्रालय सम्हाल्ने मौका पाएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘देश र जनतालाई इमानदार र निष्ठा पूर्वक सेवा गर्ने मेरा रहर र मूल्य दुबै हुन्, साेही मूल्यमा कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रण साथ काम गरें,गुनासाे गर्ने ठाउँ दिइनँ ।

मन्त्री क्‍वाटर छाड्ने चटाराेमा रहेकाे सुनाउँदै उहाँले भन्नुभयाे – ‘सामान प्याक गर्दै छु, आफ्न्तकाे घरमा समान राखेर डेरा खाेज्न थाल्छु ।’ सरकारलाई सहयाेगसँगै पार्टीले दिएकाे काम पूरा गर्ने उहाँले बताउनुभयाे । पहिला जसरी नै देश र जनताकाे सेवामा समर्पित हुने प्रतिज्ञा पनि उहाँले गर्नुभयाे । ‘मेरो सक्रियतामा कुनै कमी रहने छैन र सम्पूर्ण समय जनताकै लागि समर्पित हुनेछु’- पद्‍माले भन्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !