५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री बनेपछि सम्पत्ति थपिएकाे छैन – प्रदीप ज्ञवाली

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०४:३५


काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नाे सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे छ ।

परराष्ट्रमन्त्रीबाट बाहिरिए लगत्तै उहाँले आफ्नाे सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे हाे । आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी उहाँले शुक्रबार राति सामाजिक सञ्जालमार्फत गराउनुभएकाे छ । आफूलाई करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएकाे छ ।

मन्त्री बनेकाे अवधिमा अवधिमा विदेश भ्रमणबापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिनुभएकाे छ । हाल आफ्नाे खातामा ७,४१,७७५।६० बचत रहेको पनि उहाँले उल्लेख गर्नुभएकाे छ । केही घरायशी सामान र २ सय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेपछि कुनै सम्पत्ति नजाेडेकाे पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।

आफूले प्रयोग गर्दै आएको सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको पनि उहाँले उल्लेख गर्नुभएकाे छ । पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने पनि ज्ञवालीले जानकारी दिनुभएकाे छ ।

शुक्रबार प्रधानमन्त्री ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाउनुभएकाे थियाे । नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई उहाँले बधाई तथा शुभकामना पनि दिनुभएकाे छ ।

यस्ताे छ ज्ञवालीकाे स्टाटस:

 

धन्यवाद तथा आभार

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।

समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।

प्रदीप ज्ञवाली

२१ जेठ २०७८



प्रतिक्रिया दिनुहोस !