५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिकाे आह्वान

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०४:३२


.

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले  वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न आह्वान गर्नुभएकाे छ ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले साे आह्वान गर्नुभएकाे हाे । मानिसले गरेका प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको उल्लेख गर्दै उहाँले लेख्नुभएकाे छ – ‘त्यसलाई पुनर्स्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउदै वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।’

पारिस्थितिकीय प्रणाली पुनर्स्थापनाको विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनर्स्थापना’ को लागि विश्‍व वातावरण दिवस मनाउन लागिरहेका पनि राष्ट्रपतिकाे सन्देशमा उल्लेख छ । राष्ट्रपतिले लेख्नुभएकाे छ – ‘आजको दिनलाई हामी सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जल¸ वायु¸ जमिन र जङ्गलसँग वनस्पति¸ जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु ।’

राष्ट्रपति भण्डारीले प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएकाे छ । विश्‍वमा भइरहेको वातावरण विनाशको लागि नेपाल भूमिका नगन्य भएपनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषय र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिनेछ राष्ट्रपतिकाे विश्‍वास छ ।

काेभिड बढेकाे र निषेधाज्ञा जारी रहेकाे भन्दै उहाँले श्‍व वातावरण दिवस मनाउने सन्दर्भमा गरिने सामुदायिक सरसफाई¸ वृक्षारोपण लगायत सृजनात्मक कृयाकलापहरूमा जनस्वास्थ्यका मापदण्डहरूप्रति सजग र सुरक्षित भई सहभागी हुन सबैलाई हार्दिक आव्हान गर्नुभएकाे छ । वातावरणको संरक्षण तथा संवर्द्धनको गहन अभिभारा पूरा गर्ने काममा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालयहरू, प्रदेश तथा स्थानीय निकायहरू, सुरक्षा निकाय, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई उहाँले धन्यवाद दिनुभएकाे छ ।

वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न यसबाट सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना पनि राष्ट्रपतिले दिनुभएकाे छ । दिवसका अवसरमा राष्ट्रपति भण्डारीले देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिकाे शुभकामना दिनुभएकाे छ ।

संयुक्त राष्ट्र संघले आव्हान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि याे दिवस मनाउन थालिएको हो ।

 



प्रतिक्रिया दिनुहोस !