१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मृतक परिवारलाई नगरले किरिया खर्च दिने

प्रकाशित मिति :  २० जेष्ठ २०७८, बिहीबार ०३:५१


काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट ज्यान गुएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ ।

‘महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ’, नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार कोरोना संक्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा ज्यान गुमाएकाको र संक्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता धुलिखेल नगरमा हाल एक सय ८८ पुरुषसहित तीन सय ११ सक्रिय संक्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् संक्रमणबाट २८ को ज्यान गइसकेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा तीन सय २५ मा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा दुई सय ७३ संक्रमण मुक्त भएका छन् भने तीनको ज्यान गएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता जिल्लामा हाल दुई हजार दुई सय १५ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये बनेपा नगरमा तीन सय तीन, पनौतीमा दुई सय तीन, पाँचखालमा तीन सय ३२, नमोबुद्धमा एक सय १०, मण्डनदेउपुरमा एक सय ९० तथा रोशी गाउँपालिकामा एक सय ५४, चौँरीदेउरालीमा ५७, तेमालमा एक सय तीन, भुम्लुमा दुई सय १०, खानीखोलामा ३८, बेथानचोकमा एक सय २० र महाभारत गाउँपालिकामा ८१ सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।

कुल संक्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ संक्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका एक सय ३६ कोरोना संक्रमितको ज्यान गएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !