५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार १४:२१


सुदूरपश्चिम । प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न तीन बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमण जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले डोटीमा केही दिनअघि भएको आगलागीको घटनामा घाइते हुनु भएका आमा छोरीको उपचारका लागि दुई लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । यसैगरी बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोकेको छ ।

—रासस



प्रतिक्रिया दिनुहोस !